आयोजना प्रभावितका छोराछोरीलाई तनहुँ हाइड्रोद्वारा छात्रवृत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    आयोजना प्रभावितका छोराछोरीलाई तनहुँ हाइड्रोद्वारा छात्रवृत्ति

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७७, शनिबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले प्रभावित व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत सोही वडामा रहेको शुक्ला माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरण शुरुआत गरेको हो ।

    आयोजनाले विद्यालयमा अध्ययनरत दश जना विद्यार्थीलाई रु एक लाख सात हजार छात्रवृत्ति रकम प्रदान गरेको सहायक निर्देशक भोला शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति विद्यार्थी रु दश हजार सात सयका दरले छात्रवृत्ति प्रदान गरिएको छ । आयोजनाबाट प्रभावितका जेहेन्दार, लगनशील र विपन्न विद्यार्थी छनौट गरी छात्रवृत्ति प्रदान गरिएको शर्माले बताउनुभयो ।

    “आयोजनाले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत प्रभावित क्षेत्रका विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछ, पहिलो शुरुआत झापुटारबाट भएको छ,” उहाँले भन्नुभयो, “ऋषिङ लगायत अन्य पालिकाका विद्यार्थीलाई पनि क्रमशः छात्रवृत्ति प्रदान गरिनेछ ।” मापदण्ड बनाएर विद्यार्थी छनौट गर्ने जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइएको छ । “छात्रवृत्ति प्रदानका लागि एउटा मापदण्ड बनाएका छौ, प्रभावितमध्ये पनि विपन्न, जेहेन्दार विद्यार्थी हुनुपर्छ,” शर्माले भन्नुभयो, “सोही मापदण्डभित्र रहेर विद्यालयले नै विद्यार्थी छनौट गर्नेछ ।”

    आयोजनाले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । साथै विद्युत सेवा नपुगेका ग्रामीण भेगहरुमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ । यस्तै भीमाद नगरपालिकामा रहेको जनज्योति क्याम्पसको भवनमा तला थप गर्नका लागि पनि आयोजनाले सहयोग गरेको छ ।