तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्ग कालिका मन्दिरको पुनर्निर्माण शुरु भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण शुरु भएको हो ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्ग कालिका मन्दिरको पुनर्निर्माण शुरु भएको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुसार विभागको रु ५० लाखको लागतमा मन्दिर पुनर्निर्माण शुरु भएको हो ।
“तनहुँसुरमा रहेको दरवारको दुई वर्ष अगाडी पुरातत्व विभागले उत्खनन् गरेको थियो, सोही दरवारको नजिकै रहेको खड्गदेवी मन्दिरको अहिले पुनर्निर्माण भइरहेको छ,” उहाँले भन्नुभयो । जीर्ण अवस्थामा रहेको मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिनेछ । उक्त मन्दिरमा तत्कालिन सेन वंशीय राजाले पूजाआजा गर्ने गरेको किंवदन्ती छ । खड्गकालिकाको शेषको रुपमा तनहुँको व्यास नगरपालिका–४ दमौलीमा पनि तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ ।
चालु आर्थिक वर्षभित्रै मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । भक्तपुरका ठेकेदारमार्फत् मन्दिरको पुनर्निर्माण भइरहेको र त्यसका लागि स्थानीय कालिगढ पनि प्रयोग गरिनेछ । दैनिक १२ जना कामदार मन्दिर पुनर्निर्माणका लागि खटिएका छन् । “पुरातत्व विभागले गत वर्ष बन्दीपुरमा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि तालिम दिएको थियो, त्यहाँबाट तालिम लिएका कालिगढ पनि यहाँ खटिएका छन्,” खड्काले भन्नुभयो ।
केही समय अगाडीसम्म ओझेलमा रहेको तनहुँसुर विस्तारै चहलपहल शुरु भएको छ । कोरोना कहरपछि तनहुँसुर घुम्ने गन्तव्यको रुपमा विकास भइरहेको छ । सोही कारण यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा आएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरुका लागि खाना तथा आवासको सहज व्यवस्थापन देवस्थल सामुदायिक घरबास सञ्चालनमा आएको छ ।
तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अप्रभंस भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुर दरवारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौ लगायतका ठाउँमा बसाई सरेर गएका थिए । तनहुँसुरबाट हिमश्रृङ्खला, महाभारत पर्वत श्रृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको ६ किलोमिटर खण्ड कालोपत्रेको तयारी थालिएको छ । सङ्घीय सरकारको रु पाँच करोड र व्यास नगरपालिकाको रु पाँच करोड गरी रु दश करोड लागतमा सडक कालोपत्रेको तयारी भइरहेको छ ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरको बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भए बमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।
उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाई धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाई धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाई धर्माङ्गद सेनले ल म जुङ्ग भनेकोले लमजुङ नाम बन्न गएको किंवदन्ती रहेको छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।
तस्वीर : हरिसिं गुरुङ