डेढ लाख पुरस्कार राशिको भलिबल खेलाउँदै शुक्लागण्डकी (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    डेढ लाख पुरस्कार राशिको भलिबल खेलाउँदै शुक्लागण्डकी (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७७, सोमबार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकाले प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता आयाेजना गर्ने भएकाे छ । चैत १३ देखि १५ गतेसम्म गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । गाउँफर्कोदय मावि ढोरफिर्दीको खेलमैदानमा खेल सञ्चालन हुनेछ ।

    प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले एक लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने जनाईएको छ । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेष्ट स्पाईकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

    उज्यालो शुक्लागण्डकी अभियानका लागि खेलकुद अपरिहार्य भएकाले मेयर कप आयोजना गरिएकाे नगरप्रमुख किसान गरुङले जानकारी दिनुभयो । खेलकुदले अनुशासित र असल नागरिक बनाउन सघाउने उहाँले बताउनुभयो । ‘खेलाडी देशका गहना हुन् । उनीहरुलाई प्रोत्साहन गर्न शुक्लागण्डकी नगरपालिका पछाडी हट्दैन,’ उहाँले भन्नुभयो ।

    उपप्रमुख सविता रसाईलीले देशका खम्बाको रुपमा रहेका युवाशक्तिलाई राष्ट्रप्रतिको दायित्वबोध गराउन प्रतियोगिताले भूमिका खेल्न बताउनुभयो । उहाँले गण्डकी प्रदेशका ८५ वटै पालिकालाई प्रतियोगितामा सहभागिता जनाउन आमन्त्रण गरेको बताउनुभयो । ‘तनहुँका १० वटै पालिकालाई अनिवार्य उपस्थित हुन भनेका छौँ’, उहाँले भन्नुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले पहिलो पटक सञ्चालन गर्न लागिएको प्रतियोगिता सफल पार्न सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

    गत १८ फागुनमा थप्रेकमा बसेको ८५ औँ नगर कार्यपालिकाको बैठकले प्रथम मेयर कप भलिबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । मेयर कप सञ्चालनका लागि वडा नम्बर ५ का अध्यक्ष दिर्घबहादुर थापाको संयोजकत्वमा ५ सदस्यि मेयर कप सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

    नगरका १२ वटै वडामा रहेका खेलकुद बिकास समिति प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन उपसमिति रहेको छ । पश्चिमाञ्चल भलिबल संघको प्राविधक सहयोग र जिल्ला भलिबल संघ तनहुँले व्यवस्थापनमा सहयोग गर्ने जनाईएको छ ।

    शुक्लागण्डकी नगरपालिकाले मेयर कपमा सहभागी हुनका लागी २४ खेलाडी सहित टिम म्यानेजर र कोच गरेर २८ जना छनोट गरेको छ । गत शनिबार नगरभरका ८७ जना खेलाडीबाट छनोट गरिएको हो । शुक्लागण्डकीका २ टिम सहभागी हुने नगरपालिकाले जनाएको छ ।