जेब्राक्रसमा हिँड्न प्रहरीले सिकाएपछि… (फाेटाे/भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेब्राक्रसमा हिँड्न प्रहरीले सिकाएपछि… (फाेटाे/भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७७, सोमबार

    तनहुँ : पृथ्वीराजमार्गको तनहुँको दमौली बजारस्थित सडकखण्डमा साेमबार दिउँसो सर्वसाधारण जथाभावी बाटो काटिरहेका थिए । बजार क्षेत्रमा ठाउँ ठाउँमा जेब्राक्रस भएपनि जेब्राक्रस भएको ठाउँभन्दा अन्यत्रैबाट मानिसहरु ओहोरदोहोर गरिरहेका थिए । यत्तिकैमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेल आइपुग्नुभयो र सर्वसाधारणलाई भन्न थाल्नुभयो, “जथाभावी बाटो नकाटिनुहोला दुर्घटना हुन सक्छ, जेब्राक्रसबाट मात्रै बाटो काट्नु है ।”

    प्रहरी उपरिक्षक पौडेलको आग्रहपछि सर्वसाधारण जेब्राक्रस भएको ठाउँबाट बाटो वारपार गर्न थाले । प्रहरी उपरिक्षक पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्र हमाल लगायत प्रहरीले एक घण्टा भन्दा बढी सडकमै उभिएर जेब्राक्रसबाट बाटो वारपार गर्न सर्वसाधारणलाई सिकाउन थाले ।

    जेब्राक्रस भएका ठाउँबाट बाटो नकाटी जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले सर्वसाधारणलाई जेब्राक्रसबाट बाटो काट्न सिकाउन शुरु गरेको छ । “सर्वसाधारणलाई सचेत गराउनका लागि यो अभियान शुरु गरेका हौ,” प्रहरी उपरिक्षक पौडेलले भन्नुभयो, “कतिपयलाई यो विषय थाहा नहुन पनि सक्छ ।”

    शहरी क्षेत्रमा पैदलयात्रीको सङ्ख्या बढी हुने र व्यवस्थित आवतजावत नहुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एक हप्तासम्म सर्वसाधारणलाई सचेत गराइने पौडेलले जानकारी दिनुभयो । “दिनको दुई घण्टा भन्दा बढी यो अभियान सञ्चालन हुन्छ, यसले गर्दा बाटो काट्ने महानुभावहरुलाई मात्रै होइन अन्य सबैलाई पनि जेब्राक्रसबाट मात्र बाटो काट्नुपर्छ भन्ने चेतना अभिवृद्धि हुन्छ,” पौडेलले भन्नुभयो । प्रहरी उपरिक्षक पौडेलका अनुसार यो अभियानका क्रममा जेब्राक्रसबाट सर्वसाधारणले बाटो काट्दा सवारी रोक्नुपर्छ भनेर पनि सवारी चालकलाई सिकाइनेछ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हमालले दमौलीमा मात्र नभई अन्य शहरी क्षेत्रमा पनि यस अभियानलाई विस्तार गरिने जानकारी दिनुभयो । दमौलीमा १२ ठाउँमा जेब्राक्रसको व्यवस्था गरिएको छ भने अन्य स्थानीय तहमा पनि सम्बन्धित पालिकाको सहयोगमा जेब्राक्रसको व्यवस्थापन गर्ने कार्यलाई अगाडी बढाइएको छ ।