तनहुँ : तनहुँको व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा पार्क निर्माण कार्य प्रारम्भ भएपछि व्यक्त भएका टिप्पणीप्रति व्यास नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । अनसनचौतारी नजिकको खुल्लामैदानमा दमौली सेन्ट्रल पार्क निर्माण कार्य प्रारम्भ भएपछि केही सङ्घसंस्था, व्यक्तिहरुबाट सामाजिक सञ्जाल मार्फत् दिइएको टिप्पणीप्रति नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको हो ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले सोमबार प्रेस विज्ञप्ती जारी गरी सर्वदलीय बैठकबाट सहमति भई पार्क निर्माण कार्य शुरु गरिएको जानकारी गराउनुभयो । विज्ञप्तीमा भनिएको छ, “स्थानीय तहको पुर्नसंरचना पूर्व तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बद्री तिवारीको अध्यक्षतामा भएको सर्वदलीय बैठकबाट विपी वनवाटिकालाई खेल मैदानको रुपमा र अनसन चौतारी नजिकको चौरमा पार्क निर्माण गर्ने, कृषि कार्यालय नजिकबाट अस्पताल जाने बाटो निर्माण गर्ने सहमति भई निर्णय भएको थियो । उक्त जग्गा जिविस तनहुँकै पूर्जा भित्र रहेको समेत स्मरण गराइन्छ ।”
स्थानीय तहको पुर्नसंरचना पछि उक्त चौरमा करिब आधा खुल्ला चौर राख्ने र बाँकीमा ज्येष्ठ नागरिक, बालबालिका, अस्पताल नजिक हुँदा बिरामीहरुका लागि मनोरञ्जनका लागि खुल्ला पार्क निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । कृषि कार्यालय तर्फ स्थायी, अपाङ्गमैत्री मञ्च निर्माण गरिने र पार्कको संरक्षणका लागि बीच भागमा फूलको स्थायी क्यारी निर्माण गरी अन्य भागहरुमा मनोरञ्जनात्मक पार्क जिल्ला समन्वय समितिसँग समन्वय गरी निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । अन्य विषयमा छलफल गर्न नगरपालिका तयार रहेको विज्ञप्तीमा भनिएको छ ।