बन्दीपुरको ‘मिनी ग्रेटवाल’ मा आकर्षण (फोटो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरको ‘मिनी ग्रेटवाल’ मा आकर्षण (फोटो सहित)

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७७, सोमबार

    तनहुँ : चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा मिनी ग्रेटवाल निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजना बमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण शुरु गरेको हो ।

    गत वर्षदेखि निर्माण शुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिदै पर्यटकको रोजाइमा पर्न थालेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् ।

    रोटरी क्लवले गण्डकी प्रदेशका १४ देखि १८ वर्षसम्मका युवाहरुलाई मिनी ग्रेटवालको भ्रमण गराएको छ । क्लवको आयोजनामा तीनदिनदेखि बन्दीपुरमा युवा नेतृत्व विकास तालिम सञ्चालन भइरहेको छ । तालिममा भाग लिन आएका युवाहरुलाई बन्दीपुरको पर्यटनको बारेमा जानकारी गराउन उक्त ठाउँको भ्रमण गराइएको रोटरी क्लव अफ दमौलीका पूर्व अध्यक्ष एवं पर्यटनविज्ञ हरिसिं गुरुङले जानकारी दिनुभयो ।

    May be an image of 6 people, including Rtn Hari Singh Gurung, people standing and outdoors

    गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा मिनी ग्रेटवाल पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो । बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौ, मिनी ग्रेटवाल निर्माणका लागि सरकारले पनि यो वर्ष बजेट सहयोग गरेको छ,” उहाँले भन्नुभयो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडी बढाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

    गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा रु तीस लाखको काम भइरहेको छ । “पर्यटन मन्त्रालयको बजेटबाट शुरुवाती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौ,” उहाँले भन्नुभयो । कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

    यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।

    विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाख भन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ ।