आँबुखैरेनीको प्रशासकीय भवन उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीको प्रशासकीय भवन उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ३१ चैत्र २०७७, बुधबार

    तनहुँ : गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । नयाँ वर्षको अवसर पारेर नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको हो ।

    गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले उक्त भवनको उद्घाटन गर्नुभयो । भवन उद्घाटनसँगै गाउँपालिकाले अब सोही भवनबाट सेवा प्रवाह गर्ने भएको छ । रु तीन करोड ८ लाख ७७ हजार ४६६ को लागतमा भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

    No description available.

    विसं २०७६ माघ २१ गते सम्झौता भई विसं २०७८ साउन २१ गते सम्पन्न गर्नुपर्ने म्याद रहेपनि म्याद अगावै भवन निर्माण सम्पन्न भएको छ । सिजल कन्स्ट्रक्सन जेभीले सम्पन्न गर्नुपर्ने म्याद भन्दा तीन महिना अगावै भवन निर्माण सम्पन्न गरेको हो । भवनले ३२३.२२ वर्गमिटर क्षेत्रफल ओगटेको छ । भवन निर्माण सम्पन्न भएसँगै सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्न सजिलो हुने प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताउनुभयो ।

    गाउँपालिकाले यस अगाडी कच्ची भवनबाट सेवा प्रवाह गरिरहेको थियो । “साँघुरो भवनबाट सेवा प्रवाह गर्दा असहज भइरहेको स्थितिमा नयाँ सम्पन्न भवनले सहज हुनेछ,” पोख्रेलले भन्नुभयो । नयाँ भवनबाट सेवा शुरु भएपछि हाल कार्यालय रहेको ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्ने सोच गाउँपालिकाको छ । त्यसका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । “नपुग रकम आगामी वर्ष विनियोजन गर्छौ, कच्ची भवन भत्काएर बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्ने गाउँपालिकाको सोच हो,” उहाँले भन्नुभयो ।

    नवनिर्मित भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष थापाले स्थानीय तहमा निर्वाचित भएको चार वर्षको अवधिमा आफूहरुले धेरै विकास निर्माणका काम गरेको बताउनुभयो । “प्रत्येक वडामा विकासका काम भएका छन्, पाँच वर्षको अवधिमा सबै पूर्वाधार निर्माण गरेर छाड्ने लक्ष्य राखेका छौ,” थापाले भन्नुभयो ।

    उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले भवन नभएका वडामा नयाँ भवन, स्वास्थ्य चौकी भवन निर्माणलाई आफूहरुको कार्यकालमा प्राथमिकता दिइएको बताउनुभयो ।

    आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उद्देश्यका साथ गाउँपालिकाले प्रमुख प्रशासकीय भवन र वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकता दिएको थियो । गाउँपालिकाले वडा नं १ र ५ को वडा भवन निर्माण सम्पन्न गरिसकेको छ । वडा नं ४ को भवन निर्माणाधीन अवस्थामा छ भने ६ को भवन निर्माणका लागि टेण्डर गरिएको छ । वडा नं २ र ३ को कार्यालय भने गाउँपालिका नजिक रहेको सामुदायिक भवनबाट सञ्चालन भइरहेको छ ।

    त्यस्तै गाउँपालिकाले रु ५४ लाखको लागतमा वडा नं १ मा आधारभूत स्वास्थ्य केन्द्र, रु ५४ लाखकै लागतमा वडा नं २ मा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरेको छ भने वडा नं ४ मा रु ५० लाखको लागतमा आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बोलपत्र सम्झौता गरेको छ ।