लगातार तेस्रो जितसँगै बेंगलोर शीर्षस्थानमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लगातार तेस्रो जितसँगै बेंगलोर शीर्षस्थानमा

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, आईतवार

    एजेन्सी : रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष स्थानमा उक्लिएको छ । आइतबार कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजित गर्दै लगातार तेस्रो जितका साथ बेंगलोर शीर्षस्थानमा उक्लिएको हो ।

    जितको लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । कोलकाताका फिनिसर आन्द्रे रसेल २० बलमा ३ चौका र २ छक्का सहित ३१ रनमा बोल्ड आउट भए । ओपनर नितिश राना १८, सुमभन गिल २१ र राहुल त्रिपाठी २५ रनमा आउट भए । गिलले ९ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । ओईन मोर्गन २३ बलमा १ चौका र २ छक्का सहित २९ रनमा आउट भए । सकिब अल हसन २५ बलमा १ चौका र १ छक्का सहित २६ रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । काइल जामिसनले ३ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । हर्षल पटेल २ र वासिन्टन सुन्दरले १ विकेट लिए ।

    चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनायो । बेंगलोरले सुरुवात खराब गरेपनि म्याक्सवेलले मध्यक्रम र डी डिभिलियर्सले अन्त्य उत्कृष्ट गरेपछि विशाल योगफल तयार पारेको हो । बेंगलोरका ग्लेन म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । डी भिलियर्स ३४ बलमा ९ चौका र ३ छक्का सहित ७६ रनमा अविजित रहे । काइल जामिसन ४ बलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे ।

    कप्तान विराट कोहली ५ र राजत पातिदर १ रनमा आउट भएपनि तेस्रो विकेटका लागि म्याक्सवेलले देवदत्त पाडिक्कलसँग मिलेर ५८ बलमा ८६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । पाडिक्कल २८ बलमा २ चौका सहित २५ रनमा आउट भए । चौथो विकेटका लागि डिभिलियर्स र म्याक्सवेलले मिलेर ३७ बलमा ५३ रन जोडेका थिए । कोलकाता स्पिनर बरुण चक्रवर्तीले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स र प्रसिद्ध कृष्णाको नाममा १-१ विकेट लिए ।

    यो जितसँगै बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । बेंगलोरले विहिबार राजस्थान रोयल्ससँग खेल्ने छ । कोलकाताले बुधबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ । मुम्बई ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै तेस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स २ अंकका साथ क्रमश : चौथो र पाँचौ स्थानमा छन् ।