पोखरा : गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश सभाका एक सांसदका अनुसार स्वास्थ्य निर्देशनालयले ३ जनामा संक्रमण देखिएको बताएको छ ।
‘दललाई जानकारी गराएअनुसार समग्रमा ३ जनालाई कोरोना देखिएको छ,’ उहॉले भन्नुभयो । यद्यपी स्वास्थ्य निर्देशनालयले यसबारे जानकारी भने दिइसकेको छैन । स्वास्थ्य निर्देशनलायका सूचना अधिकारी नवराज शर्माले दिउँसो १ बजे कोरोना रिपोर्ट आउने छ ।
सांसदहरुले भने आआफ्नो कोरोना रिपोर्ट पाइसकेका छन् । एमाले सांसद इन्द्रधारा विष्टले आफूहरुले कोरोना रिपोर्ट पाएको बताउनुभयो ।
गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमाले सांसदहरुले कोरोना परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् ।
विशेष अधिवेशनको पहिलो दिन सोमबार एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पिसिआर परीक्षण माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाउनुभएको थियो ।
सभामुखले बैठक स्थगित गरेपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मंगलबार नै कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो ।
परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो ।
बुधबार सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी सदन डाकिएको छ । मंगलबार एमाले सांसदहरु बैठकको सुरुआतमै उठेर आपत्ति जनाएका थिए । सांसद राजीव पहारीले कोरोना परीक्षणबिना बैठक राखिन नहुने तर्क गर्नुभएको थियो। (समाधान न्युजबाट)