दुलेगाैडा : भुजिकोटमा भएको प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी–१२ फिरफिरेले उचालेको छ । विहिबार भएको फाइनल खेलमा बौदिकाली गाउपालिका–२ डेढगाँउलाई ३–० को सोझो सेटमा पराजित गर्दै फिरफिरेले उपाधि उचालेको हो ।
पहिलो सेटमा डेढगाउले कमजोर प्रदर्शन गर्दा फिरफिरे २५–१३ को स्कोरमा विजयी भयो । दोश्रो सेटमा २५–२१ र तस्रो सेटमा २५–२२ को स्कोरमा फिरफिरे विजयी भएसंग उपाधि चुम्यो ।
उपाधि सहित फिरफिरेले ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नवलपुरदेखि आएको डेढगाँउ उपविजेतामा सिमित हुदै ३३ हजार ३ सय ३३ रुपैयाँमा चित्त बुझायो ।
सेमिफाईनलमा फिरफिरेले शुक्लागण्डकी–११ राईपुरलाइ पराजित गर्दै फाइनल प्रवेश गरेको हो । डेढगाँउले आयोजक शुक्लागण्डकी–२ भुजिकोटलाई हराएर फाईनल यात्रा तय गरेको थियो ।
सेमिफाइनलमा पराजित समुहबिच तेस्रो र चौथो स्थानका लागि खेल भएको थियो । आयोजक भुजिकोटलाई पराजित गर्दै राईपुर तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । राईपुरले २५–२२, २५–१६ र २५–२१ को सोझो सेटमा पराजित गरेको हो । तेस्रो र सान्त्वना हुने समुहले क्रमशः ११ हजार १ सय ११ रुपैयाँ, पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विधागततर्फ फिरफिरेका विवेकसिंह ठकुरी बेस्ट प्लेयर घोषित भए । राइपुरका प्रदिप गुरुङ बेस्ट स्पाइकर, फिरफिरेका बिशालसिंह ठकुरी बेस्ट ब्लकर, फिरफिरेकै अशोक मल्ल बेस्ट सेटर, बेस्ट डिफेन्डर डेढगाउँका सुनिल सिञ्जाली मगर र बेस्टर सर्वर डेढगाउँका आशिष श्रेष्ठ घोषित भए ।
विजेता खेलाडी तथा समुहलाई शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमाल, वडा अध्यक्ष जगतबहादुर गुरुङले पुरस्कृत गरे ।
बैशाख १३ गतेदेखी सुरु प्रतियोगितामा १८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।