तनहुँ : तनहुँको व्यास नगरपालिका-३ स्थित नेशनल एपोलो अस्पतालमा ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ । कोरोना जोखिम बढेपछि अस्पतालले शुक्रबारदेखि ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको हो ।
अस्पतालमा आउने सर्वसाधारणलाई सहज रुपमा सेवा दिन ज्वरो क्लिनिक सञ्चालनमा ल्याएको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिनुभयो ।
“कोभिडको सन्त्रास फेरि फैलिदै गएको अवस्थामा चुप लागेर बस्ने अवस्था देखिदैन,” दाहालले भन्नुभयो, “गत वर्ष कोरोना कहरमा पनि ज्वरो क्लिनिकबाट सेवा दिएका थियो ।” ज्वरो क्लिनिक सञ्चालनका लागि अस्पताल प्राङ्गणमा टेन्ट राखिएको छ । त्यसका लागि व्यास नगरपालिका-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ र चापाघाटस्थित कालीभञ्जन गण (ई) ले सहयोग पुर्याएको दाहालले बताउनुभयो ।
“स्थानीय सरकारले होस् या प्रदेश, सङ्घ सरकारले गत सालमा कोभिडको क्षेत्रमा राम्रो गरेको भनेर नीजि क्षेत्रलाई धाप नमारे पनि अहिलेको अवस्थामा पनि ज्वरो क्लिनिक खोल्ने र अक्सिजन सहित सेवा पनि दिने निर्णय गरेका हौ,” उहॉले भन्नुभयो ।