म्याग्देले कोभिड अस्पतालमा डाक्टर नियुक्त गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देले कोभिड अस्पतालमा डाक्टर नियुक्त गर्ने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले जामुनेस्थित कोभिड अस्पतालमा डाक्टर नियुक्त गर्ने भएको छ । शनिबार बसेको गाउँपालिकाको ११० औ कार्यपालिकाको बैठकले जामुने कोभिड अस्पतालका लागि तत्काल एक जना मेडिकल डाक्टर नियुक्त गर्ने निर्णय गरेको हो ।

    कोभिड सङ्क्रमण बढ्दै गएपछि अस्पताल सञ्चालनका लागि गाउँपालिकाले डाक्टर नियुक्त गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालको आवश्यकतालाई ध्यानमा राखेर तीनदिनभित्र दुई महिनाको लागि डाक्टर सोझै करारमा नियुक्त गर्ने निर्णय भएको छ ।

    कोभिड अस्पतालमा हाल पाँच शय्या रहेको र त्यसलाई बढाएर दश शय्या बनाउने तयारी गरिएको छ । कोभिड अस्पतालका लागि अक्सिजनको व्यवस्थापन भइसकेको र थप अक्सिजन जुटाउने प्रयास गरिएको अधिकारीले बताउनुभयो ।

    कोभिड अस्पतालमा गाउँपालिकाले केही महिना पहिला एमविविएस डाक्टर नियुक्त गरेपनि उक्त डाक्टरले छोडिदिएपछि अस्पताल डाक्टरविहिन छ । गाउँपालिकाले कोभिड अस्पतालमा प्रयोगशाला समेत शुभारम्भ गरेको थियो ।

    गाउँपालिकाले घरमा बस्न नमिल्नेका लागि सात वटै वडामा आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ । आइसोलेशन केन्द्रमा बत्ती र पानीको व्यवस्थापन गाउँपालिकाले गर्नेछ भने बाँकी स्वयंम व्यक्तिमार्फत् नै गराउने निर्णय भएको छ ।

    वडा नं १ स्थित महेन्द्र मावि गुणादी, कुल ज्योति आवि बाख्रे, विजय आधारभूत विद्यालय मानुङ, थानीदेवी प्रावि बच्र्याङमा आइसोलेशन बनाइनेछ । वडा नं २ स्थित उमादेवी प्रावि, ऋषिथुम आवि, राधा मावि, वडा नं ३ स्थित जनगणपति मावि, रविचन्द्र प्रावि, वडा नं ४ स्थित मिन मावि, गणेश मावि, जनप्रकाश आवि, वडा नं ५ स्थित जनशक्ति प्रावि, हिरामणि प्रावि, पञ्चकन्या प्रावि, बोटेनी सामुदायिक भवन, वडा नं ६ स्थित अकला आवि, अकला सामुदायिक सिकाई केन्द्र र वडा नं ७ स्थित मिलीजुली प्रावि, सरस्वती आवि, देवी दलित सामुदायिक भवनमा आइसोलेशन केन्द्र बनाइनेछ ।

    कोरोना जोखिम बढेपछि गाउँपालिकाले पिसिआर परीक्षणको दायरा थप वृद्धि गर्ने निर्णय गरेको गाउँपािलकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञाको पालना गर्दै घरमै बस्न गाउँपालिकावासीलाई आग्रह गर्नुभयो ।

    कार्यालय तीन दिन खुल्ने

    निषेधाज्ञाको अवधिमा गाउँपालिकाले नागरिकको आवश्यकता र माग अनुसार हप्तामा तीन दिन दैनिक तीन घण्टामात्रै कार्यालय खोल्ने निर्णय गरेको छ । सीमित कर्मचारी आलोपालो गरी स्वास्थ्यको मापदण्ड पूर्ण पालना गराई सरकारी कारोवारको भुक्तानी तथा नागरिकको सङ्कलित निक्षेप रकम माग अनुसार भुक्तानी गर्ने निर्णय गरेको हो ।