तनहुँ : तनहुँको भिमाद नगरपालिका-५ की २२ वर्षीया महिलालाई घरमै ज्वरो आयो। निको होला भनेर बस्नुभयाे । स्वास्थ्यमा सुधार नआएपछि उहाँ पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना हुनुभयाे । उहाँ सात महिनाकी गर्भवती हुनुहुन्थ्याे ।
अस्पतालले पिसिआर परीक्षण गर्दा वैशाख २८ गते उहाँको रिपोर्ट पोजेटिभ आयो। आइसोलेसनमा राखेर उपचारकै क्रममा उहाँलाई श्वासप्रश्वासमा समस्या आयो। अस्पतालका चिकित्सकले अप्रेसनमार्फत बच्चा निकाले। बच्चा जन्मियो, तर शनिबार बिहानै उहाँको मृत्यु हुन पुग्यो।
कोरोना भाइरसको संक्रमण पुष्टि भएको चार दिनमै उहाँले मृत्युवरण गर्नुपरेको थियो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा मात्रै १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। उनीहरूको पनि भिमादका ती महिलाजस्तै कोरोना संक्रमण पुष्टि भएको छोटो समयमै मृत्यु भएको हो।
गण्डकीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरूमा कोरोना संक्रमण भएर सबैभन्दा धेरै दिन बाँचेका भनेको १० दिन हो। २४ घण्टामा मृत्यु भएका १४ जनामध्ये संक्रमण पुष्टि भएका अधिकांशले एक दिनदेखि पाँच दिनभित्र मृत्युवरण गर्नुपरेको तथ्याङ्कले देखाउँछ। (सेताेपाटीबाट)