गाउँ-गाउँमा योजना अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाउँ-गाउँमा योजना अनुगमन

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७८, सोमबार

    दुलेगाैडा : तनहुँ निर्वाचन क्षेत्र २ ‘क’ मा निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्षमा संचालित १० वटा आयोजनाहरुको आइतबार अनुगमन गरिएको छ । प्रदेश सभा सदस्य आशा कोइरालाको निर्वाचन क्षेत्रमा संचालित २२ वटा योजना मध्ये शुक्लागण्डकीका १० वटा योजनाको अनुगमन गरिएको हो ।

    अनुगमनमा प्रदेश सभा सदस्य सरिता गुरूङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, गण्डकी प्रदेश सरकार पूर्वाधार विकास कार्यालय तनहुँका दधिराज पौडेल तथा ईन्जिनियरहरू सहभागी हुनुहुन्थ्यो ।

    शुक्लागण्डकी १ काठेपिपलमा सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यक्रमकाे ५ लाख रूपैयाँ बजेट परेको उक्त भवनमा उल्लेख्य जनश्रमदानका कारण लक्ष्य भन्दा बढि काम भएको पाइएको अनुगमनमा सहभागी दधिराज पौडेलले जानकारी दिनुभयो ।
    शुक्लागण्डकी २ स्थित भुलभुले बाराही मोटर मार्गमा ६ लाखको लागतमा १९७ मिटर पक्की नाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

    शुक्लागण्डकी ६ स्थित जनसेवा मोटर मार्ग , शुक्लागण्डकी ७ को सहिद गिता मार्गको पक्की नाला निर्माण, डहरे सामुदायिक भवन शुक्लागण्डकी ८ र जामुनेफेदी सामुदायिक भवन शुक्लागण्डकी १२ को लक्षित काम सम्पन्न भएका छन् । शुक्लागण्डकी ८ लालिम स्थित खेल मैदान र शुक्लागण्डकी २ स्थित सहिद स्मृति पार्कमा प्रतिमा निर्माणको काम प्रारम्भिक चरणमा नै रहेको पाइएकाले छिट्टै सम्पन्न गर्न सुझाव दिइएको अनुगमन समिति संयोजक सरिता गुरूङले बताउनुभयो ।


    यस्तै शुक्लागण्डकी ११ स्थित राजपुर माध्यमिक विद्यालयको कम्पाउण्ड निर्माण र शुक्लागण्डकी १० स्थित देउराली सामुदायिक भवन निर्माणको काम द्रुतगतिमा अघि बढेको बताइएको छ ।


    उधारो तथा सापटी रकममा योजना सम्पन्न गरिसकेका उपभोक्ताहरूलाई भुक्तानीमा समस्या नहोस् भनेर निषेधाज्ञाको समयमा पनि सुरक्षा मापदण्ड पालना गरेर अनुगमन गरिएको प्रदेश सभा सदस्य आशा कोइरालाले जानकारी दिनुभयो ।