दुलेगाैडा : कोरोना सङ्क्रमणबाट तनहुँको शुक्लागण्डकीमा एक वृद्धको मृत्यु भएको छ । जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको कोभिड कक्षमा उपचाररत शुक्लागण्डकी नगरपालिका–५ का ८१ वर्षीय वृद्धको सोमबार बिहान मृत्यु भएको हो ।
तीन दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएपछि ती वृद्धको आइसोलेशनमा उपचार भइरहेको छ । निमोनिया भएपछि पाँच दिन अगाडी अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभएका उहाँको राति २ः३० बजे मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । “उहाँलाई रातिदेखि नै एकदमै गाह्रो भइरहेको थियो, आइसियु खोज्यौ तर पाएनौ,” डा. श्रेष्ठले भन्नुभयो ।
अस्पतालको आइसोलेशनमा हाल ९ जना सङ्क्रमितको उपचार भइरहेको छ । त्यस्तै १६ जना प्रिआइसोलेशनमा रहेको र रिपोर्ट आउन बाँकी रहेको छ । “सबैलाई निमोनिया देखिएको छ, रिपोर्ट आएपछि आइसोलेशनमा सार्छौ,” उहाँले भन्नुभयो ।