कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कार परिवारले गर्न पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कार परिवारले गर्न पाउने

    खबरपुञ्ज संवाददाता

    २ जेष्ठ २०७८, सोमबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको दाहसंस्कार परिवारलाई गर्न दिने भएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले मृतकका आफन्तले चाहेको खण्डमा दाहसंस्कार गर्न दिने भएको हो ।

    तर त्यसका लागि सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आफन्तले चाहेको खण्डमा आवश्यक सुरक्षा सामग्री उपलब्ध गराइने जानकारी दिनुभयो । आफन्तले आफै दाहसंस्कार गर्न नचाहेको खण्डमा भने जिल्ला सङ्कट व्यवस्थापन केन्द्र मार्फत् हुने अन्तिम संस्कारलाई सहयोग गर्न आग्रह गरिएको छ ।

    कोभिड–१९ बाट मृत्यु हुनेहरुको अन्तिम संस्कारमा घाटको समस्या देखिएकाले मृतक परिवारका परम्परागत घाटकै दायाँ वा बायाँ भागमा जलाउने कार्यको व्यवस्थापनमा सहयोग गर्न वडा अध्यक्षबाट सम्बन्धित घाटसमितिसँग समन्वय गरि आवश्यक व्यवस्था मिलाउने निर्णय नगरपालिकाले गरेको छ ।

    पिसिआर रिपोर्ट आउन करिब एक हप्ता लाग्ने भएकाले पिसिआर परीक्षण गर्नका लागि व्यास नगरपालिकालाई अनुमति माग गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रमार्फत् सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

    कोरोना सङ्क्रमित राख्नका लागि व्यास नगरपालिकाबाट तयार भएको आइसोलेशनको तयारी पूर्ण भएकाले होम आइसोलेशनमा बसेका विरामीहरुलाई अनुगमन गरि घरमा राख्न नहुने वा नमिल्ने बिरामीलाई सामुदायिक आइसोलेशनमा राखिनेछ ।

    नगरपालिकाभित्र धेरै रुघा, खोकी तथा ज्वरो देखिएका बिरामीहरु देखिएको भन्ने गुनासो प्राप्त भएकाले सम्पूर्ण टोल विकास संस्था, स्वास्थ्य स्वंयसेवीहरुलाई परिचालन गरि पिसिआर परीक्षणको दायरा बढाउने निर्णय नगरपालिकाले गरेको छ ।