तनहुँ : कोरोना जोखिमका कारण निषेधाज्ञा जारी भएको अवस्थामा उद्योगी व्यवसायीले कर तिर्न सक्ने स्थिति नरहेको भन्दै तनहुँ उद्योग वाणिज्य सङ्घले म्याद थप हुनुपर्ने माग गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सङ्घले निषेधाज्ञाका कारण सम्पूर्ण क्षेत्र ठप्प रहेकाले मूल्य अभिवृद्धि कर, अग्रिम कर, अन्तशुल्क जस्ता करहरु हालको अवस्थामा बुझाउने स्थिति नरहेको भन्दै सङ्घले म्याद थप गर्न सम्बन्धित निकायमा पहल गरिदिन माग गरेको हो ।
सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा म्याद थपका साथै हर्जाना र जरीवानाको छुटको व्यवस्था समेत हुनुपर्ने माग गरिएको छ । । उद्योगी व्यवसायीहरुले लिएको ऋणको व्याज (आधार दरमा) उपलब्ध गर्न ऋण नवीकरण र छोटो अवधिका लागि लिएको ऋणको हकमा राष्ट्र बैङ्कमार्फत् सम्बन्धित बैङ्कहरुलाई कम्तिमा एक वर्षका लागि नवीकरण र पुनकर्जाको लागि व्यवस्थापन गर्न सङ्घले माग गरेको छ ।
अहिलेको अवस्थामा सम्पूर्ण कारोवार ठप्प रहेको हुँदा यो अवस्था कहिलेसम्म जारी रहने हो यकिन गर्न नसकिने भएकाले निषेधाज्ञा समाप्त भएको अवधिसम्म बैङ्कमा बुझाउने साँवा, व्याजको भुक्तानी र कुनै प्रकारको व्यावसायिक प्रमाणपत्र वा अन्य प्रमाणपत्र नवीकरण गराउँदा लाग्ने जरीवाना मिनाहा हुनुपर्ने माग गरिएको छ ।