तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले अक्सिजनको अभावमा तनहुँका जनताले ज्यान गुमाउन नपर्ने बताउनुभएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग बिहीबार भेटघाट गर्दै सांसद श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।
“मेरो घोषणा के हो भने तनहुँका जनता अक्सिजनको अभावमा ज्यान गुमाउनपर्दैन, त्यसको जिम्मा मेरो भयो,” उहॉले भन्नुभयो, “कति ल्याउन पर्छ म ल्याउँछु ।” सांसद श्रेष्ठले तनहुँ उद्योग वाणिज्य सङ्घले थालेको अभियान प्रति समर्थन जनाउनुभयो ।
जिपी कोइराला अस्पतालमा अक्सिजन प्लाण्ट, आइसियु र भेन्टिलेटरका लागि रु ९ करोड, दमौली अस्पतालमा रु ३० लाख विनियोजन भइसकेको र बन्दीपुर अस्पतालमा पनि बजेट विनियोजन गराउने सांसद श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष इमकुमार मल्ल, द्वितीय उपाध्यक्ष कुमार मल्ल, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।