कोरोना कहर : स्थिति सामान्य नभए मूल्याङ्कनको आधारमा नतिजा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना कहर : स्थिति सामान्य नभए मूल्याङ्कनको आधारमा नतिजा

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०७८, बिहीबार

    दमाैली : कोरोना कहरका कारण यस वर्ष हुनुपर्ने सबै परीक्षा स्थगित भएको छ । कोरोना जोखिम बढ्दै गएपछि तनहुँका स्थानीय तहले पनि कक्षा एकदेखि नौ कक्षासम्मका सबै परीक्षा स्थगित गरेका थिए ।

    कोरोना जोखिम अझै कति रहन्छ भन्ने यकिन नभइरहेका बेला तनहुँका स्थानीय तहले परीक्षा सञ्चालन नभएको खण्डमा मूल्याङ्कनको आधारमा नतिजा निर्माण गर्ने निर्णय गरेको छ । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा बिहीबार भर्चुअल माध्यमबाट बसेको सबै पालिकाका शिक्षा प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले जेठ १५ सम्मको अवस्था हेरी त्यतिबेलासम्म पनि विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नभएमा प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक, शिक्षकले दिएका परियोजना कार्य, शिक्षकले विद्यार्थीको व्यवहार अवलोकन, दैनिक रुपमा गरेको मूल्याङ्कनको आधारमा सबै बालबालिकाको नतिजा निर्माण गर्ने निर्णय गरेको छ ।

    हरेक स्थानीय तहले अनलाइन माध्यमबाट प्रधानाध्यापक बैठक सञ्चालन गर्ने, यस अवस्थामा पनि विद्यालयले विद्यार्थीको सिकाइलाई निरन्तरता दिन गर्न सक्ने कार्यहरुको खोजी गर्ने, सम्भव हुने विद्यालमा अनलाइनबाट शिक्षण सिकाइलाई निरन्तरता दिने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शर्माले जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको समेत उपस्थिति रहेको बैठकले पालिकाले गरेका शिक्षा क्षेत्रका उपलब्धिमूलक कार्यको आदान प्रदान, समसामयिक परिस्थितिमा बालबालिकाको सिकाइलाई निरन्तरता दिन गर्न सकिने कार्यको खोजी समेत गरेको छ ।

    बैठकमा यस भन्दा पहिला भएको निर्णय नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा तालिम सञ्चालन गर्ने कार्य कोभिडको कारण हुन नसके पनि नयाँ पाठ्यक्रम कार्यन्वयनको विषयमा सबै पालिकामा सरोकारवालासँग छलफल भएको र लकडाउनको अन्त्य हुनासाथ शिक्षकलाई अभिमूखिकरण तालिम सञ्चालन गर्ने निर्णय भएको छ ।

    पालिकाले गरेका राम्रा अभ्यास प्रस्तुत गर्ने क्रममा भानु नगरपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र भिमाद नगरपालिका गरी ६ वटा स्थानीय तहका कार्यपालिकाले शिक्षक विद्यार्थीको अनुपातको आधारमा दरवन्दी मिलान गर्ने निर्णय गरी कार्यान्वयनको चरणमा गएको इकाईले जानकारी दिएको छ ।

    अहिलेको अवस्थामा पनि शुक्लागण्डकी नगरापालिकामा रहेका खैरेनीटार मावि, पञ्चमुनिदेव मावि, तालवेसी मावि, ऋषिङ गाउँपालिकाको शुक्ला मावि, शिवसरस्वती मावि ले अनलाइनबाट कक्षा सञ्चालन गरेका छन् ।

    भिमाद नगरपालिकाले सबै विद्यालयका प्रअहरुसँग कार्यसम्पादन करार गरेको, कार्यसम्पादनमा भएका बुँदाहरुको आधारमा सूचक निर्माण गरी हरेक महिनामा हुने प्रधानाध्यापक बैठकमा छलफल गर्ने गरेको विषय बैठकमा छलफल गरिएको थियो ।

    भानु नगरपालिकाले शिक्षकलाई विषयगत शिक्षण सिकाइको कार्ययोजना सहितको डायरी प्रकाशन गरी सबै शिक्षकलाई पु¥याएको, विषयगत शिक्षकको सहभागितामा बार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी कार्यान्वयनको चरणमा पुगेको, शुक्ला गण्डकी नगरपालिकाले विद्यालय बगैचा कार्यक्रम, सङ्घीय कार्यक्रम बाहेक आफ्नै बजेटमा नमुना विद्यालय कार्यक्रम निर्माण, विद्यालयमा निकासा गरिएको रकमको निकासा पत्र दिने गरेको विषय समेत बैठकमा छलफल गरिएको छ ।