पोखरा : गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले आफूले व्यक्त गरेका विचारहरु आशय भन्दा फरक ढङ्गबाट समाचार बनेको बताउनुभएको छ । केही सञ्चारमाध्यमले फरक ढङ्गबाट समाचार प्रकाशन गरेको मन्त्री गुरुङको भनाई छ ।
“ वर्तमान सरकारले विश्वासको मत लिन पनि नसक्ने र अर्को सरकार पनि गठन हुन नसक्ने अवस्था आएमा के हुन्छ त भन्ने प्रश्नको जवाफमा संवैधानिक व्यवस्था अनुसार निर्वाचनमा जानुपर्ने हुन सक्छ भन्ने मेरो भनाइलाई केही समाचार माध्यमले मैले व्यक्त गरेको आसय भन्दा फरक समाचार सम्प्रेषण गरे,” बिहीबार सामाजिक सञ्जालमार्फत् प्रष्टिकरण दिँदै गुरुङले भन्नुभयो, “फेरि स्पष्ट पार्न चाहन्छु । म लोकतन्त्र, गणतन्त्र, संघीयता, अग्रगमन, राष्ट्रिय हित र स्वाभिमान तथा संवैधानिक विधि- प्रक्रिया भन्दा बाहिर छैन ।”
अहिलेको राजनीतिक परिदृश्य हेर्दा गण्डकी प्रदेशमा नियमित अधिवेशनबाट बजेट ल्याउने अवस्था सिर्जना नभएमा कसरी बजेट ल्याउनु हुन्छ भन्ने जिज्ञासामा असार १ गते जसरी पनि बजेट ल्याउनु पर्ने हुँदा नियमित अधिवेशनबाट आउन नसके अध्यादेशबाट भएपनि प्रदेश सरकारले बजेट ल्याउनु पर्ने बाध्यात्मक अवस्था रहेको छ भन्ने आफूले भनेको उहॉले बताउनुभयो ।