आदर्श तिम्रा बुबा साधारण नागरिक थिए र मर्नुपर्याे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    आदर्श तिम्रा बुबा साधारण नागरिक थिए र मर्नुपर्याे

    सन्तोषी सुनार

    १३ जेष्ठ २०७८, शुक्रबार


    डियर आदर्श मिश्रा,
    निशब्द छु तिम्रा शब्दहरुले ! ब्याकस्टेज राई स्टेजमा आएर अरुलाई हँसाउने तिमी, आज झरी वर्षेसरी साँच्ची नै तिम्रो परिवारमा आशुँको वर्षात भएको छ ।

    बुबाको काजकिरियामा रहँदा तिमीले बोलेका शब्दहरु साँच्चिकै मेडिकल माफियाहरु र देश चलाउन नजान्नेलाई झकझकाउनेछन् । बुबालाई डायलासिस गर्न लैजादा तिमीले धकेलेको ह्विलचियरले नै देखाउँछ वास्तविक सरकारी अस्पताल कस्तो हुन्छ भनेर ! किड्नी प्यासेन्टलाई भ¥याङ चढाउन प्रयोग गरिने ह्विलचियरको टायर फेर्न सरकारलाई कहाँ फुर्सद छ र ? आवश्यक मापदण्ड पूरा गरी अस्पताल चलाए त “सरकारी काम कहिले जाला घाम” भन्ने उखानको मतलबै भएन नी हैन र ?

    एनएमसी (नेशनल मेडिकल कलेज) र नारायणी सरकारी अस्पतालले साँच्चिकै तिम्रो बुबाको हत्या गरेकै हुन्, किनकी यो प्राकृतिक मृत्यु हँुदै होइन । अस्पतालको चरम लापरवाहीले गरिएको हत्या हो । यस्ता लापरवाहीले कयौँले ज्यान गुमाइसके र अझैँ कतिले गुमाउँदैछन् थाहा छैन ।

    डायलासिस गर्ने मेसिन बिग्रदा त्यही मेसिनको भरले बाँच्न सक्ने कति जनाको ज्यान जान्छ, त्यो कुराको महशुस अस्पताल अनि यो सरकारले गर्नै सक्दैन् । विरगन्जदेखि पोखरा, कुनै अर्को देशमा हैन नजिकैबाट पनि मेसिन मर्मतका लागि बोलाउन नसक्ने अनि एउटा मेसिन बिग्रदा दुवै मेसिन बिग्रिएको अफवाह फैलाउनु यो सानोतिनो लापरवाही मान्न सकिदैन् । यस्ता चरम लापरवाही त यो देशमा कति छन् कति । तिमी एउटा पात्र हौ जसको बुलन्द आवाजले अन्य मिर्गौलाका रोगीलाई बचाउन र मेडिकल माफियाहरुको केही हदसम्म निदहराम गराउन सक्छ ।

    Stand-up comedian Mishra holds govt, hospitals responsible for his dad's  tragic death - myRepublica - The New York Times Partner, Latest news of  Nepal in English, Latest News Articles

    र अर्को रह्यो राष्ट्रियताको कुरा । तिमीले भने अनुसार तिम्रो बाबाको मिर्गौला प्रत्यारोपण गर्न सम्भव थियो तर तिम्री आमा भारतीय चेली भएकाले तिम्रो आमाकी बहिनी (सानीमा)ले मिर्गौला दिन मिलेन । किनकी तिम्री सानीमा पनि भारतीय नागरिक थिइन् । तिमीले पटक पटक केपी ओलीलाई समेटेका छौ । केपी ओली प्रधानमन्त्री भएकै कारण दुई–दुई पटक मृगौला फेरेर बाँच्न सम्भव भएको हो । तर, तिम्रो बुबा केपी ओली थिएनन्, साधारण नागरिक थिए ? प्रधानमन्त्रीको त जो कोही नातेदार हुन्छन् । जसले भन्यो उसले मिर्गौला दिन मिल्छ । तिम्री सानीमा त भारतीय नागरिक हुन् ।

    यो माहामारीमा जनता अस्पतालमा बेड र अक्सिजन नपाएर छटपटाइरहेका बेला आफ्नो स्वार्थ पूर्ति गर्न र चुनावी खर्च जुटाउन एमसीसीसँग मात्र ५९ अर्बमा बेच्ने राष्ट्रघाती सम्झौता गर्दैछ । जहाँ एमसीसीको अनुसूची ५ मा भनिएको छ कुनैपनि योजना तर्जुमा गर्नुपरेमा सबैभन्दा पहिले भारत सरकारको समर्थन जुटाउनुपर्नेछ । यस्ता राष्ट्रघाती सम्झौता गर्न सरकार सहमत छ । तर, एउटा भारतीय नागरिक जो नेपाली नागरिककै नातेदार छन् उनले किड्नी ट्रान्सप्लान्टको लागि दिन मिल्दैन भनेंर भन्नु कति लज्जास्पद छ ।

    बुबाको उपचार हँुदैछ भनेर हस्पिटल लैजान्छु भनी आमालाई सिधै मसानघाट लगेर आफ्नो पतिको पार्थीव शरी देखाउदाँको पीडा सहँदापनि तिमीले देखाउन नखोजेका तिम्रा अनुहारमा लुकेका पीडाहरु प्रस्ट देखिन्छन् । राष्ट्रियताको कुरा गर्दा तिमीलाई मधेसी भनी राष्ट्रियताको सर्टिफिकेट दिन खोज्नेहरुको सर्टिफिकेट कत्ति पनि स्वीकार्य छैन ।

    तिमी एक नेपाली हौ यस्तो नेपाली जसले छिट्टै नै तिम्रा बुबाजस्तै कयौ मिर्गौला पीडितको मुहारमा कान्ति अनि मनमा शान्ति ल्याउने छ । तिमी लडिरहनु तिम्रा बुलन्द आवाजको पछाडी आम नेपाली नागरिकको साथ छ । अहँ आफ्नो पाईला कत्ति नड्गमगाउनु तिमी हिँडिरहनु जबसम्म तिम्रो गन्तव्य आइपुग्दैन । शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धासुमन अनि बुबा बिनोद मिश्राको आत्माको चीरशान्तिको कामना ! अत्ताल्लिएको पृथ्वीको चरम गर्मीमा आकाश वर्षिएको छ र साँच्चिकै तिमीले भनेझैँ आकाशमा ज्यान आएजस्तो देखिएको छ । हो, त्यो ज्यान तिम्रै बाबाको हो ।