काठमाडाै : नेपाल फिफा वरियतामा १०३ स्थानमाथि रहेको इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ। शनिबार राति बासरामा भएको खेलमा नेपाल ६–२ गोल अन्तरले स्तब्ध भएको हो।
नेपाल खेलको सातौं मिनेटमै १–० गोलले पछि परेको थियो। नवौं मिनेटमा मनिष डाँगीले बराबरी गोल गरे। मनिषले डेब्यु खेलमै गोल गरेका हुन। अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिमले आत्मघाती गोल गरे । यो गोलसँगै नेपालले २–१ को अग्रता लिएको थियो। तर नेपालको अग्रता धेरैबेर टिक्न सकेन। मध्यान्तरअघि ४–२ गोलले अग्रता लिएको इराकले बाँकी गोल दोस्रो हाफमा गरेको होे।
नेपाल र इराकबीचको यो चौथो खेल हो। यसअघिका तीन खेल पनि इराकले जितेको थियो। यो मैत्रीपूर्ण खेलपछि टीम नेपाल विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि कुवेत जानेछ।
नेपालले ३ जुनमा चाइनिज ताइपेई, ७ जुनमा जोर्डन र ११ जुनमा अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ।