एक निर्वाचन क्षेत्र : एक सडकलाई निरन्तरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एक निर्वाचन क्षेत्र : एक सडकलाई निरन्तरता

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०७८, मंगलवार

    पोखरा : गण्डकी प्रदेश सरकारले एक निर्वाचन क्षेत्र ः एक सडकलाई निरन्तरता दिने भएको छ । प्रदेशका ११ वटै जिल्लाका निर्वाचन क्षेत्रमा सञ्चालित यो कार्यक्रमलाई आगामी आर्थिक वर्ष ०७८÷७९ मा निरन्तरता दिइने भएको हो ।

    गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै स्थानीय तहको केन्द्र जोड्ने गरी अघि बढाइएका सडक र एक निर्वाचन क्षेत्र ः एक सडक कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।

    गण्डकी प्रदेशसभा सदस्यको सिफारिसमा प्रदेश सरकारले महत्वका सडकलाई एक निर्वाचन क्षेत्र ः एक सडकमा राखेर काम गर्दै आएको छ । प्रदेश गौरव, रणनीतिक महत्व तथा बहुवर्षीय आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी स्रोत व्यवस्था गरिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

    प्रदेश सरकारले सबै घरपरिवारलाई आधारभूत खानेपानी सेवा पु¥याउन सञ्चालित “आधारभूत खानेपानी“ कार्यक्रम र खानेपानी सबैको पहुँचमा पु¥याउन एक घर ः एक धारा कार्यक्रमलाई निरन्तरता दिने मन्त्री गुरुङले बताउनुभयो ।

    मन्त्री गुरुङका अनुसार कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न प्रदेशका कृषियोग्य जमिनमा सिंचाई प्रणालीहरू विकास र बिस्तार गरी वर्षैभरी सिंचाई सुविधा पुग्ने व्यवस्था मिलाउन बजेटमा प्राथमिकता दिइनेछ ।

    स्थानीय तहका प्रशासनिक भवन निर्माण, सामुदायिक भवन तथा बस्ती विकास कार्यक्रम सञ्चालन, सम्भाव्यता अध्ययन, बिवस्तृत परियोजना प्रतिवेदन, जग्गा प्राप्ति लगायतका पूर्व तयारी पूरा भएका आयोजनाहरूमा मात्रै बजेट विनियोजन गर्ने नीति लिइएको उहाँले जानकारी दिनुभयो ।

    “प्रदेश सरकारले आवश्यक ठानेका तथा नयाँ पहिचान गरेका आयोजना तथा कार्यक्रमहरूको सम्भाव्यता अध्ययन एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आवश्यक बजेट विनियोजन गरिनेछ,” उहाँले भन्नुभयो ।

    उज्यालो गण्डकी प्रदेश र काठेपोल विस्थापन कार्यक्रमलाई निरन्तरता दिँदै केन्द्रीय विद्युत प्रसारण लाइनमा आबद्ध हुन नसकेका स्थानमा सौर्य तथा वैकल्पिक उर्जा प्रबद्र्धन कार्यक्रमलाई जोड दिइने गुरुङले बताउनुभयो । यातायात सेवालाई व्यवस्थित गर्न विद्युतीय प्रणालीमा आबद्ध गरिने र ट्राफिक प्रणालीलाई चुस्त बनाउन विद्युतीय सवारी साधनलाई जोड दिइने उहाँले बताउनुभयो ।