प्रदेश सरकार भन्छ ; खर्च बढाउन लागेको होइन, कानुन बनाएर व्यवस्थित बनाउन खोजिएको हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रदेश सरकार भन्छ ; खर्च बढाउन लागेको होइन, कानुन बनाएर व्यवस्थित बनाउन खोजिएको हो

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०७८, सोमबार

    पोखरा : गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीहरुको सुविधा थपेर खर्च बढाउन नभइ कानुन बनाएर व्यवस्थित गर्न लागिएको प्रष्ट पार्नुभएको छ ।

    मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीको सुविधा थपेर आर्थिक भार बढाउन नखोजिएको उहॉले बताउनुभयो । सुविधाका विषयलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया आएपछि उहॉले भन्नुभयो, ‘जहाँसम्म नागरिकको चासो छ, हामी उहाँहरुको सम्मान गर्छौं । कोरोना नियन्त्रण र खोपको व्यवस्थापन नै यो सरकारको प्राथमिकतामा रहनेछ, खर्च बढ्ने गरी कुनै निर्णय गरेका छैनौं ।’ 

    सोमबार प्रस्तुत हुने नीति तथा कार्यक्रम र लगत्तै आउने बजेटमा पनि नागरिकका आवश्यकतालाई नै प्राथमिकतमा राखिएको उहॉले बताउनुभयो । प्रदेशमा बनेका हालसम्मका कानुनमा पूर्व मुख्यमन्त्रीका बारेमा कहिँकतै उल्लेख नभएकाले मर्यादाक्रम, सुरक्षा व्यवस्था लगायत विषयलाई कानुन बनाएर व्यवस्थित बनाउन खोजिएको प्रवक्ता खड्काले बताउनुभयो ।

    प्रदेश सभाका पदाधिकारीको सेवा सुविधा सम्बन्धी ऐनले प्रमुख प्रतिपक्षी दलका नेताको सेवा सुविधाको बारेमा प्रष्ट उल्लेख गरेको छ । खड्काले भन्नुभयो, ‘उहाँले त्यहि अनुसार सुविधा पाउनुहुन्छ, आम नागरिकले व्यक्त गर्नुभएजस्तो यस्तो महामारीका बेला खर्च बढाउने निर्णय गरेको होइन ।”