काठमाडाै : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपहिरोबाट प्रभावितलाई समयमै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षति भएकाले सरकारले तत्काल प्रभावितको उद्धार र राहतका लागि पहल थाल्नुपर्नेमा वरिष्ठ नेता पौडेलले ध्यानाकर्षण गराउनुभएको छ ।
“अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकाले सरकारले गम्भीरताका साथ पहल गरोस् । बाढी पहिरोका कारण घरबारबिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यान जाओस्,” उहाँले भन्नुभयो ।
मनसुन अझै केही दिन रहने भएकाले बाढि र पहिरोबाट थप क्षति हुन नदिन सरकारले तत्काल कार्य योजना अघि बढाउन आग्रह गर्नुभयो । “देशभर बाढी पहिरोबाट प्रभावित नागरिकको दुखमा आ–आफ्नो ठाउँबाट सहयोगी बन्न सबैको कर्तव्य हो । तसर्थ बाढीपहिरो प्रभावित क्षेत्रमा पीडितहरुको उद्दार र राहतमा देशभरका नेपाली कांग्रेसका साथीहरुले सक्दो साथ र सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,” पौडेलले भन्नुभयो ।
साथै उहाँले सरकारले तत्काल राहतको प्याकेज घोषणा गरेर घाइतेहरुको उपचारको व्यवस्था र विस्थापितहरुलाई गाँस,बास र कपासको व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो ।