पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शुक्रबार विश्वासको मत लिने हुनुभएको छ ।
संविधानको धारा १ सय ६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीता पौडेलले २९ जेठमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो । विश्वासको मत लिन २ दिन अघि प्रदेशसभामा जानकारी गराउनुपने व्यवस्थाअनुसार आजै प्रदेशसभा सचिवालयलाई लिखित जानकारी गराइएको छ ।
मुख्यमन्त्रीमा नियुक्त हुन पोखरेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन जुटाउनुभएको थियो । पोखरेलले विश्वासको मत लिन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था आउनेछ ।