‘सबै कुरा मिलेपछि घरबेटीले जात सोधे, अनि….’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘सबै कुरा मिलेपछि घरबेटीले जात सोधे, अनि….’

    खबरपुञ्ज संवाददाता

    १ असार २०७८, बुधबार

    काठमाडौं : सञ्चारकर्मी रुपा सुनारले मंगलबार फेसबुकमा एउटा भिडियो पोस्ट गर्नुभयाे । भिडियोमा उहाँले आफू कोठा खोज्ने क्रममा दलित भएकै कारण घरबेटीले अस्वीकार गरेको अनुभव सेयर गर्नुभएकाे छ ।

    ‘काठमाडौंको बबरमहलस्थित प्रधान थरका घरबेटीको घरमा कोठा खाली थियो । उहाँले सुरुमा हुन्छ, मिलेर बस्नुपर्छ भनेर भन्नुभएको थियो । अन्तिममा जातको कुरा आएपछि उहाँले म दलित भएकै कारण कोठा दिन अस्वीकार गर्नुभयो,’ सुनारले भन्नुभयाे ।

    रुपालाई कोठा चाहिएको थियो । उहाँलाई साथीले भन्नुभयाे, ‘बबरमहलमा एउटा घरमा कोठा खाली छ । घरबेटी कोही बस्ने छ भने लिएर आऊ भनेका छन् । जाऔं ।’ उहाँ साथीहरूसँग कोठा खाली भएको घरमा बुझ्न जानुभयाे । उहाँलाई कोठा मनपर्‍यो । महिला घरबेटीले भनिन्, ‘राम्रोसँग बस्नुपर्छ, अबेला आउने, हल्लाखल्ला गर्ने मान्छे धेरै ल्याउने कामचाहिँ गर्न पाइन्न ।’

    ‘मैले हामी पढ्ने र काम गर्ने मान्छे त्यस्तो हल्लाखल्ला हुँदैन । राम्रैसँग बस्ने हो भन्यौं । उहाँले ठीक छ आफ्नै छोरीहरू जस्तो मान्छे, एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ । भाडामा बस्नेलाई पनि हामीले हेप्नुहुँदैन । भाडामा बस्नेले पनि अरुको घरजस्तो गरी बस्नुहुँदैन भन्नुभयो,’ रुपाले भन्नुभयाे ‘मलाई कोठा मन पर्यो, ममीलाई पनि कोठा हेर्न ल्याउँछु भनेँ ।’

    रुपाका अनुसार त्यसपछि घरबेटीले उनलाई जात सोधे । उहाँले आफू दलित भएको बताउनुभयाे । जात सुन्नेबित्तिकै ती घरबेटी मौन बसेको उहाँ बताउनुहुन्छ । ‘मेरो साथीरू पनि के गर्ने गर्ने भएर नबोली बसे । उहाँले पछि अन्कनाएर खबर गर्छु है भन्नुभयो र नम्बर माग्नुभयो,’ रुपाले भन्नुभयाे ‘मलाई त्यतिबेलै नराम्रो लागिसकेको थियो । तर सबै साथीहरूको अगाडि केही पनि फरक परेको छैन जस्तो गरेँ ।’

    त्यहाँबाट खिन्न भएर फर्किएपछि उहाँको साथीलाई ती घरबेटीले कल गरे । ‘तपाईंले यस्तो मान्छे ल्याउनुभएछ । हामी अर्को जातको मान्छे राख्दैनौं । हाम्रो देउता छ, पूजा गर्नुपर्छ, समस्या हुन्छ,’ घरबेटीले भने ।

    पछि आफैंले फोन गर्दा पनि उही जवाफ पाएको रुपाले बताउनुभयाे । ‘यदि म दलित नभएको भए बस्न पाउँथे । म दोस्रो दर्जाकी भएँ, म बोल्न सक्ने हुँदाहुँदै पनि यस्तो विभेद खेप्नुपरेको छ । बोल्न नसक्नेले कति विभेद खेप्नुपर्छ होला,’ उहाँको दुखेसो छ ।

    मंगलबारको घटनविरुद्ध आफू कानुनी बाटोमा जाने उहाँले बताउनुभयाे । ‘हिजो दिउँसोको घटनाविरुद्ध आज प्रहरीमा उजुरी दिने तयारी गरेको छु । म डराउने, विभेद सहने र चुप लाग्नेहरूमा पर्दिनँ,’ उहाँले भन्नुभयाे ।

    ‘मुलुकी फौजदारी सहिंता २०७४’ को दफा १६६ मा जातपातको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने स्पष्ट छ । उपदफा २ भनिएको छ,’ उपदफा १ बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुनेछ र राष्ट्रसेवकले यस दफामा लेखिएको कसुर गरेका थप ती महिनासम्म कैद सजाय हुनेछ ।’
    (नेपाल प्रेसबाट)