तनहुँ : सोमबारदेखि परेको वर्षाले तनहुँका विभिन्न ठाउँमा पोल बगाउँदा विद्युत अवरुद्ध भएको छ । आँबुखैरेनी, डुम्रे र म्याग्देमा वर्षाले पोल ढल्दा विद्युत अवरुद्ध भएको हो ।
विद्युत अवरुद्ध भएका ठाउँमा विद्युत सुचारु गराउनका लागि मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । वर्षा नरोकिएकाले मर्मत कार्यमा समस्या भइरहेको छ ।
अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा अहिलेसम्मकै उच्च तहमा आएको बाढीले आँबुखैरेनीस्थित मस्र्याङ्दी पावर हाउस र मुग्लिङबीचको सात वटा विजुलीको पोल बगाएको वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “पावर हाउसदेखि मुग्लिङसम्मको खण्डमा सडकछेउ रहेका सात वटा विजुलीको पोल बगाउँदा मुग्लिङ मनकामना फिडरको लाइन अवरुद्ध भएको छ, आवश्यक मर्मतका लागि सामान सहित टिम पुगेर काम गरिरहेको छ,” उहाँले भन्नुभयो, “वर्षा नरोकिएकाले कार्य गर्न कठिनाई भएको छ ।”
पोल बगाउँदा आँबुखैरेनीको तीन वटा ट्रान्सफर्मर अवरुद्ध भएको र मुग्लिङ र मनकामनाका केही भागमा विद्युत अवरुद्ध भएको छ ।
यसैगरी मैवलभञ्ज्याङमा तीन वटा ट्रान्सफर्मर अवरुद्ध हुँदा करिब एक सय ५० घरधुरीमा विद्युत अवरुद्ध भएको छ । वितरण केन्द्रका प्रमुख क्षेत्रीका अनुसार म्याग्देमा पनि ट्रान्सफर्मर नजिकका तीन वटा पोल ढल्दा विद्युत अवरुद्ध भएको छ । “सबै ठाउँमा विद्युत सुचारु गराउनका लागि काम भइरहेको छ, निरन्तर वर्षा भइरहेकाले काममा कठिनाई भएको छ,” उहाँले भन्नुभयो ।