दमौली अस्पताल गण्डकीकै पहिलो उत्कृष्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली अस्पताल गण्डकीकै पहिलो उत्कृष्ट

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७८, शुक्रबार

    दमाैली : तनहुँको दमौली अस्पतालमै गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये प्रथम उत्कृष्ट हुन सफल भएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कनमा आधारमा दमौली अस्पताल प्रथम हुन सफल भएको हो ।

    गत वर्ष गरिएको मूल्याङ्कनमा दोस्रो भएको अस्पताल यस पटक प्रथम हुन सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । यद्यपि कोभिडका कारण गत वर्षको भन्दा प्रतिशत भने घटेको छ । यस पटक अस्पतालले विभिन्न मापदण्डको मूल्याङ्कनमा ६१ प्रतिशत अङ्क ल्याउन सफल भएको छ । गत वर्ष दोस्रो हुँदा अस्पतालले ७८ प्रतिशत प्राप्त गरेको थियो ।

    “कोभिडका कारण अस्पतालका नियमित सेवाहरु अवरुद्ध हुँदा प्रतिशत घटेको हो, दमौली अस्पतालको मात्र नभई सबै जिल्ला अस्पतालका अङ्क घटेका छन्,” अधिकारीले भन्नुभयो ।

    कोभिड सङ्क्रमितको उपचारका लागि अस्पतालमा प्रसुती सेवा स्थगित गरिएको छ । ओपिडी कक्षलाई पनि कोभिड कक्ष बनाइएकाले त्यसको पनि अङ्क घटेको अधिकारीले बताउनुभयो । मन्त्रालयले सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाको आधारमा मूल्याङ्कन गर्ने गर्दछ ।

    अस्पताल व्यवस्थापन समितिले अस्पताल सुधारका लागि विभिन्न प्रयासहरु गरिरहेको छ । अस्पतालले जिल्लामै पहिलो पटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण शुरु गरिसकेको छ । अस्पतालले भेन्टिलेटर सहितको सघन उपचार कक्ष पनि सञ्चालनमा ल्याएको छ । दाँत र आँखा सेवा पनि अस्पतालमा सञ्चालनमा छ ।