काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको तीव्र आलोचना गर्नुभएको छ । प्रधानमन्त्रीका रूपमा बालुवाटारबाट अन्तिम सम्बोधन गर्दै उहॉले सर्वोच्चको फैसला त्रुटीपूर्ण भए पनि पालनामा आफू स्पष्ट रहेको बताउनुभयो ।
ओलीले आफ्नो सम्बोधनमा भन्नुभयो, ‘फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तत तुल्याएको छ । यो फैसलाको समयले अग्निपरीक्षा लिनेछ ।’
सर्वोच्चको फैसलाले नेपालमा दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई नै चुनौती दिने काम गरेको ओलीले आरोप लगाउनुभयो ।
उहॉले भन्नुभयो ‘एउटै दलका सांसद सत्ता र प्रतिपक्ष बन्ने कल्पना संसारमा कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दैन । संविधानको यस्तो अपव्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गर्ने काम गरेको छ । यसले सिर्जना गर्ने राजनीतिक विकृतिहरूको मूल्य भविष्यले चुकाउनुपर्ने हुन्छ ।’
राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन फैसलाले खल्बलिएको ओलीले बताउनुभयो । ४६ सालपछि देखिएका राजनीतिक विकृतिका विभिन्न स्वरुपहरू देखेको भन्दै त्यसको पुनरावृत्ति हुने चिन्ता उहॉले व्यक्त गर्नुभयो ।
‘रेफ्री स्वयम्ले गोल गर्ने र खास पक्षलाई जिताउने इच्छा भयो भने जोखिम हुन्छ । त्यो मात्रै नभएर अहिले त अदालतबाट आउने सम्भावित फैसला एक हप्ताअघि नै खास व्यक्ति र समूहलाई आइसक्ने अवस्था पनि देखियो ‘, ओलीले भन्नुभयो ।