चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७८, बिहीबार

    चितवन : चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

    जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाही नौ वर्षदेखि कलेजो रोगबाट पीडित भई उपचार सम्भव नभएपछि प्रत्यारोपणको प्रतीक्षामा बस्नुभएको थियो । शाहीमा यही असार १८ गते झन्डै १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालले जानकारी दिएको छ ।

    शाहीकी श्रीमती ४८ वर्षीया कमलादेवी शाहीले कलेजो प्रदान गर्नुभएको थियो । यसअघिको कलेजो प्रत्यारोपणभन्दा योपटक ‘कम्लिकेटेड’ प्रत्यारोपण गरिएको अस्पतालको दाबी छ । आज अस्पतालमा पत्रकार सम्मलेन गरी सोबारे जानकारी दिइएको हो ।

    उक्त कार्यमा कलेजका विशेषज्ञ चिकित्सक डा. सञ्जयकुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्तकुमार शाह, डा. सागर पौडेल, डा. वरुण श्रेष्ठ र डा. किरण अधिकारीसहित झन्डै दुई दर्जन विशेषज्ञ, चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम संलग्न थियो । प्रत्यारोपणमा भारतका चिकित्सकको टिमसमेत सघाएको थियो ।

    पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले नेपालमै पहिलोपटक कम्लिकेटेड कलेजो प्रत्यारोपण गरिएको दाबी गर्नुभयो ।

    शाहीको अवस्था राम्रो हुँदै गइरहेको जनाइएको छ । “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई डिस्चार्ज गर्न सकिने अवस्था छ,” उपचारमा संलग्न चिकित्सक डा. सञ्जय यादवले भन्नुभयो ।