क्याङदी मार्गको अरौदीमा क्याङदी खोलाले र गुमी खोलाले सडक कटान गर्दा सवारी आवतजावत् रोकिएको हो ।
दुलेगौँडा : पृथ्वीराजमार्गबाट झण्डै ११ किलोमिटर परको बस्ती हिजोआज निकै टाढिएको छ । १७ असारपछि पटक–पटक आएको बाढी पहिरोले शुक्लागण्डकी नगरपालिका–११ जरेबर आसपासका नाम्सीकोट, पाल्पालीछाप लगायतको बस्ती सडक सञ्जालबाट निकै टाढिएका छन् ।
बाढी पहिरो र उर्लेको खोलाले सडक सञ्जालबाट छुटाएको जरेबरका बुजसत्तो महतले बताए । ‘बजारबाट नजिक भएपनि दुर्गममा बसे जस्तै भएको छ । कतै सडक खोलाले बगाएको छ । कतै पहिरो झरेर रोकिएको छ’, उनले भने, ‘गाडी आउजाउ गर्न सकेको छैन् ।’
सवारी आउजाउ नहुदाँ अबको केही दिनमा यहाँका वस्तीमा खाद्यन्नको अभाव हुने उनी बताउँछन् । बजारबाट गाउँसम्म बोकेर खाद्यन्नका सामाग्री ल्याउन नसकिएको उनी बताउँछन् । हरेक बर्ष बर्खा लाएपछि जरेवर आसपासका वस्ती दुर्गम जस्तै बन्ने उनको भनाई छ ।
हिउँदमा यो क्षेत्रमा दुलेगौँडाबाट मुस्ताङचोक, किमलडाँडा हुदैँ क्याङदी खोला तरेर सिम्ले जोडिन्छ । सिम्लेमा क्याङदी मार्गमा जोडिएपछि अरौदी हुदैँ गुमीखोला, वरखोला पार गरेर सवारी आवतजावत हुन्छ । बर्खाको भेलले उर्लिएको क्याङदी खोलाबाट यतिबेला सवारी वारपार गर्न सक्ने अवस्था छैन् । विकल्पमा घुमाउँरो बाटो भिमाद बजारबाट भागर हुदैँ सिम्ले जोडिएर क्याङदी मार्गबाट जरेबर आसपासको वस्तीमा पुगिन्छ । त्यो बाटो प्रयोग गर्न पनि अरौदी नजिकै क्याङदी खोलाले सडकको नाम निशान नरहने गरी कटान गरेको छ ।
गुमी खोलाले पनि सडकलाई क्षतविक्षत गराएर सवारी चल्न नमिल्ने बनाईदिएको छ । दुई पांग्रे मोटरसाईकल र स्कुटर चलाउन मुस्किल हुने कन्तविजोग अवस्थामा सडक छ । जरेवर पुग्नलाई वर खोलाको वहाव पनि बाधक बनेको छ ।
सडक सञ्जाल टुटेपछि बिरामीलाई अस्पताल पु¥याउन पनि बोकेर लैजानु पर्ने अवस्था आएको शुक्लागण्डकी नगर कार्यपालिका सदस्य सानुमाया महत बताउँछिन् । ‘यहाँको वस्तीमा स्वास्थ्य संस्था छैन् । सिटामोल लिन पनि बजार नै पुग्नुपर्छ । दोहोरो खोला र पहिरोग्रस्त सडकले छेकेको छ’, उनले भनिन् ।
जरेबर, नाम्सीकोट, पाल्पालीछाप लगायतका बस्ती शुक्लागण्डकीमा पर्ने र सडक ‐क्याङदी मार्ग) भिमाद नगरपालिका पर्ने भएकाले पनि तत्कालै मर्मत गरी सुचारु गर्न नसकिएको उनको भनाई छ । सडक खुलाउन भिमादसंग समन्वय भईरहेको उनले बताईन् ।
क्याङदी मार्ग तत्काल खुलाउन नसकिने भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धीमान श्रेष्ठले बताए । ‘धेरै ठाउँमा क्षति भएको छ । अरौदीमा क्याङदीले सडक नै नरहने गरी कटान गरेको छ । त्यहाँनेर खोलाको धार परिवर्तन गराउँदैछौँ । खोलाको धार परिवर्तन भयो भने सुख्खा भएपछि बल्ल सडक सुचारु गर्न सकिएला’, उनले भने । कम्तीमा पनि अझै हप्तादिन सडक सुचारु नहुने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
जरेबरमा वर खोला र क्याङदी खोलाले खेती योग्य जमिनसंगै बस्ती कटान गर्दा जोखिम बढेको स्थानियहरु बताउँछन् । शुक्लागण्डकी नगरपालिकाले नदी कटान रोक्न तारजाली उपलब्ध गराएपनि निरन्तरको बर्षाले तटबन्ध गर्न नसकिएको स्थानीय बताउँछन् । जरेबर आसपासका बस्तीलाई बर्खामा वर खोला बढ्दा सहज तरिकाले आउजाउ गर्न मोटर गुड्ने पुल बनाउन थालेपनि निर्माण सम्पन्न भएको छैन् । भिमाद नगरपालिका–८ र ९ का बस्ती पनि सडक सम्पर्कबाट टाढिएका छन् ।