दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति नभएसम्म कोरोना बिरुद्धको खोप सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । सोमबार नगर प्रमुख किसान गुरुङलाई ध्यान आर्कषण पत्र बुझाउदै स्वास्थ्यकर्मीले सुरक्षाको माग राखेका हुन् ।
साउन १ गते स्वास्थ्य शाखामा खोप नपाएको झोकमा निजी विद्यालयका शिक्षकले स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तमाथि हातपातको प्रयास गरेको ध्यानार्कषण पत्रमा जनाईएको छ । यस्तै, आधारभूत स्वास्थ्यकेन्द्र फिर्दीमा कार्यरत अनमी रुबी थापा र दुलेगौँडा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि स्थानीयले दुर्व्यवहार गरेको उल्लेख छ । दोषी उपर कारवाहीको माग उनीहरुले गरेका छन् ।
माग बमोजिम खोप प्राप्त नभएपछि निजी विद्यालयका शिक्षकले खोप लगाउन नपाएकाले दुर्व्यवहारसँगै यहाँबाट सरुवा गरिदिने धम्की दिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । उनले भने, ‘यस्ता दुव्र्यवहारले कर्मचारी सुरक्षित महशुस गर्दैनन् । शिक्षक जस्तो बौद्धिक सर्कलले दुर्व्यवहार गर्नु राम्रो हाेइन ।’ उनले आफूहरु जनताको सेवक भएको तर काम गर्दा सुरक्षित हुनुपर्ने बताए ।
नगर प्रमुख गुरुङले संयम र धैर्य भएर काम गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् । ‘पब्लिक आवेशमा आउँदा यस्तो दुर्व्यवहार हुन्छ । तर, हामी धैर्य र संयम भएर समस्याको समाधानमा लाग्नुपर्छ’, उनले भने । माग अनुसार खोप नआएकाले समस्या भएको उनको भनाई छ । सबैले सभ्य व्यवहार प्रस्तुत गर्नुपर्ने उनको तर्क थियो । ‘हामीलाई नागरिकको पिर नभएको हाेइन, चिन्ता छ । खोप किन्न बजेट विनियोजन गरेका छौँ’, उनले भने, ‘१ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । प्रदेश सरकारले प्रतिबद्धता जनाए अनुसार खोप नपठाए हामी आफैँ किन्छौँ ।’
५५ वर्ष उमेर समूह माथिका ज्येष्ठ नागरिक, शिक्षक, सार्वजनिक यातायातका सवारी चालक लगायतका लक्षित वर्गका लागि आएको खोप लगाउने बेला स्वास्थ्यकर्मी दुर्व्यवहारमा परेका हुन् । निजी विद्यालयमा कार्यरत शिक्षकले आफूहरुमाथि खोपमा विभेद भएको भन्दै आक्रोशित भएका छन् । सामुदायिक विद्यायका शिक्षकलाई भने खोप दिईएको थियो । ५५ वर्षमाथि उमेरका ज्येष्ठ नागरिकले पनि घण्टौँ लाईनमा बसेर खोप लगाउन नपाएपछि विरोध जनाएका छन् ।