पृथ्वी राजमार्गमै फस्छ एम्बुलेन्स ! (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वी राजमार्गमै फस्छ एम्बुलेन्स ! (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७८, बिहीबार
    • तनहुँको हलेदी–कोत्रे खण्ड विजोग हुदाँ जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् हजारौँ यात्रु

    दुलेगौडा : मंगलबार दिउँसो १ बजेतिर विरामी बोकेर एउटा एम्बुलेन्स पोखरातर्फ हुईकिदै थियो । विरामीलाई चाँडो भन्दा चाँडो अस्पताल पुर्याउन तीव्र गतिमा हुईकिएको म्याग्दे गाउँपालिकाको एम्बुलेन्स शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित पृथ्वी राजमार्गमै फस्यो । जलमग्न सडक, कालोपत्रे उप्किएर बनेको खाडल छल्न खोज्दा खोज्दै एम्बुलेन्स नालाको नजिक फस्यो ।

    ‘सडकमा जाम थियो । कुनापट्टीबाट जाम छलेर जान खोज्दा झनै फस्यो’, एम्बुलेन्स चालक टेकनारायण श्रेष्ठले सुनाए । निकाल्न खोज्दा चालकको केही सिप नलाएर रोकिएको एम्बुलेन्स भित्र छट्पटाईरहेका बिरामीले भन्दै थिए ‘मेरो जिन्दगी यही जाला जस्तो छ ।’

    करिब १५ मिनेट रोकिएको एम्बुलेन्सलाई जेसीभी लगाएर निकालियो । नालीमा पसेको एम्बुलेन्स ननिकाल्दै त्यहीँनेर भ्यान बीच बाटोमै फस्यो । यस्तो क्रम यहाँ चलिरहन्छ । कहिले बाईक पल्टन्छ । कहिले कार रोकिन्छ । कहिले स्थानीयले त कहिले यात्रुले नै धकलेर निकाल्छन् फसेका सवारी । दैनिक हजारौँ गाडी गुड्ने राजमार्ग समयमै मर्मत हुनुपर्ने एम्बुलेन्स चालक श्रेष्ठ बताउँछन् । ‘यस्तो सडकमा एम्बुलेन्स गुडाउँदा विरामीलाई समयमै अस्पताल पुर्याउन सकिदैन्’, उनी भन्छन्, ‘गाडी पार्टपुर्जा पनि चाँडै बिग्रन्छ ।’

    दुई पांग्रे देखी ठुला मालवाहक सवारीले बडो कष्टकरपुर्ण तरिकाले यो सडक पार गर्नु परेको छ । कष्टकरपुर्ण यात्रा गर्नुपर्दा धेरैले भन्छन्, ‘छ्या यस्तो पनि राजमार्ग हुन्छ र ? नेता मन्त्री कोही पनि यो बाटो हिँड्दैनन् की क्या हो !’

    सङ्घीय राजधानी काठमाडौं र गण्डकी प्रदेश राजधानी पोखरा जोड्ने एक मात्र सडक हो पृथ्वीराजमार्ग । देशका धेरै भु–भागबाट पोखरा आउजाउ गर्न यही राजमार्ग प्रयोग हुन्छ । गण्डकी प्रदेशवासीको लाइफलाईनको रुपमा रहेको पृथ्वी राजमार्गको तनहुँ हलेदी–कोत्रे सडक खण्डको अवस्था कन्तविजोग छ । राजमार्गमा पासो थाप्ने खाडल छन् । त्यही खाडलमा पानी जमेर जलमग्न बन्छ । दैनिक हजारौँ सवारी गुड्ने देशकै एक प्रमुख राजमार्गको यात्रा हिउँद बर्खा सधैँ कष्टकर बन्छ । बर्खामा खाडलमा पानी जमेर धान रोप्न मिल्ने जस्तो देखिन्छ ।

    भत्किएको सडक बेलामै मर्मत नहुदाँ दुर्घटना बढेको स्थानीय सुरेन्द्र तामाङ बताउँछन् । सडक मर्मतमा कसैको ध्यान नगएको उनको भनाई छ । ‘सडक मर्मतका लागि सडक डिभिजन कार्यालय पुग्दा ४ लेनको बनाउन ठेक्का लाग्यो भन्छन् । भत्किएपछि बेलामै बनाउन न स्थानीय सरकारको ध्यान जान्छ । न प्रदेश र संघको,’ उनले भने ।

    विगतका वर्षमा सडक मर्मत गर्दा समेत वर्ष दिन पनि नटिक्ने समस्या रहेको तामाङले बताए । सडकमा दोहोरा नालाको आवश्यकता रहेको उनको भनाई छ । ‘दोहोरो नाला छैन् । मास्तिरबाट आएको पानीको निकास नभएर सडक जलमग्न हुन्छ र भत्कन थाल्छ । दुईतर्फी नाला बनाएर पानीको निकास भए यस्तो समस्या हुँदैनथ्यो’, उनले भने । यस ठाउँको भौगोलिकतालाई ध्यान दिएर पानी नजम्नेगरी सडक अग्लो बनाउन उनको सुझाव छ ।

    मंगलबारदेखि सडक मर्मत थालेको सडक डिभिजन कार्यालय तनहुँले जानकारी दिएको छ । ‘यातायात सञ्चालनमा सहज बनाउन स्थानीय सामग्रीले खाल्डो पुर्दैछौँ । अस्थायी समाधान हुनेछ । वर्षाका बेला कालोपत्रे गर्ने सम्भावना हुँदैन,’ कार्यालय प्रमुख अमितकुमार श्रेष्ठले भने । सडक ४ लेनको बनेपछि स्थायी समाधान हुने उनले जनाए । ४ लेनको सडक बनाउन सम्झौता भएर अबको १५ दिनभित्र काम शुरु हुने उनको भनाई छ । उनी भन्छन्, ‘४ लेनको सडक बन्दा नयाँ संरचना बन्छ । स्थायी समाधान हुन्छ । ठेक्का लागिसक्यो । तत्कालै मर्मत बाहेक नयाँ काम गराउन पनि अफ्ठ्यारो भएको छ ।’

    पानीको निकास हुन नपाउदा हलेदी–कोत्रे सडक बिग्रेको श्रेष्ठले बताए । नाली र कल्भर्ट पुरिएर सडक जलमग्न हुदाँ यो सडकखण्ड चाँडै भत्कने समस्या रहेको उनले जानकारी दिए ।