तनहुँ : लागुऔषध र साधारणचोरीका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले अदालतबाट कैद र जरीवाना तोकिएका दुई जनालाई पक्राउ गरेको हो ।
लागुऔषध मुद्दामा फरार बन्दिपुर गाउँपालिका–१ बेलभञ्ज्याङका २६ वर्षीय सुवास परियार पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७७ चैत ८ गते एक महिना कैद र रु दुई हजार जरीवानाको फैसला सुनाएको थियो ।
त्यस्तै साधारण चोरी मुद्दामा भानु नगरपालिका–८ देउरालीटार बस्ने २६ वर्षीय किरण तामाङ पक्राउ परेका छन् । निजविरुद्ध जिल्ला अदालतले विसं २०७७ चैत २३ गते एक महिना कैद र रु ३२ हजार एक सय जरीवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेका दुवैलाई आज आवश्यक कारवाहीका लागि अदालत उपस्थित गराइएको छ ।