म्याग्दे : पछिल्लो समय निकै चर्चित बनेको ट्रि हाउस सहितको पार्कलाई आदर्श नमूना क्लवले डस्टविन प्रदान गरेको छ । म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको पार्कलाई स्वच्छ र सफा राख्न म्याग्दे–४ मनहरीस्थित आदर्श नमूना क्लवले बिहीबार डस्टविन प्रदान गरेको हो ।
यस ठाउँ चर्चित भएसँगै पर्यटकको आगमन बढ्दा फोहरमैलाको चुनौति बढ्ने भएकाले चार थान डस्टविन प्रदान गरिएको क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिनुभयो । “अर्को वडाको क्लव भएपनि यस ठाउँको प्रचारप्रसारका लागि र फोहरमैला न्यूनीकरणका लागि यो सहयोगले मद्दत पुग्ने विश्वास गरेका छौ,” रानाले भने । सोही अवसरमा क्लवले त्यस ठाउँमा सरसफाई, सचेतनामूलक पोष्टर समेत टाँसेको छ ।
सामुदायिक वनका अध्यक्ष इश्वर रानाभाटले पछिल्लो समय यस ठाउँमा पर्यटकको चहलपहल बढेको बताए । पर्यटकको चहलपहल बढेसँगै फोहरमैलाको पनि चुनौति बढ्ने भएकाले क्लवले प्रदान गरेको डस्टविनले फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने बताए ।
डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा ट्रि हाउस सहितको पार्क निर्माण गरिएको हो ।