व्यास १४ को सभापतिमा दुर्गा, नरिमाया र सरस्वतीको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    व्यास १४ को सभापतिमा दुर्गा, नरिमाया र सरस्वतीको दावी

    विवि श्रेष्ठ

    ८ श्रावण २०७८, शनिबार

    दमाैली : नेपाली कांग्रेस व्यास नगरपालिका वडा नं १४ को वडा सभापतिमा दुर्गा वहादुर आले, नरिमाया राना र सरस्वती थापा मगरले दावी गरेका छन् । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तर्गत व्यास १४ को वडा सभापतिमा उनीहरुले दावी गरेका हुन् ।

    लामो समय नेपाली कांग्रेस क्रियाशिल सदस्यको रुपमा काम गरेका दुर्गा बहादुर आले शिक्षक संघका वडा सभापति समेत हुन् । ३० वर्ष देखि प्राध्यापन क्षेत्रमा रहेका आले हाल केशवटार माविका प्रधानाध्यापक हुन् ।

    श्रोत व्यक्तिको रुपमा १२ वर्ष काम गरेका आलेले शिक्षामा स्नातकोत्तर गरेका छन् । विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल रहेका आले वडा मेलमिलाप कार्यकर्ता समेत रहि सामाजिक काममा आबद्ध छन् ।

    व्यास नगरपालिका कार्यकारिणी सदस्य नरिमाया रानाले पनि वडा सभापतिमा दावी गरेकी छन् । लामो समयसम्म नेपाली कांग्रेसमा आवद्ध रहि काम गरेकी उनले महिला पनि नेतृत्व गर्न सक्ने हुँदा त्यसका लागि आफू बलियो उम्मेदवार भएको बताइन् ।

    व्यास नगरपालिका वडा नम्बर १४ को वडा सदस्य हुँदै नगरपालिकाको कार्यपालिका सदस्य भएर काम गरेकी उनले अब पार्टीको वडा सभापति भएर जनताको काम गर्ने बताइन् । साथी वचत तथा ऋण सहकारी संस्था केशवटारको लामो समयसम्म अध्यक्ष रहेकी राना रुम्सी सामुदायिक वनको पूर्व अध्यक्ष समेत हुन् ।

    यसैगरी वडाका कार्यवाहक सभापति सरस्वती थापा मगरले समेत आफू स्वभाविक वडा सभापतिको दावेदार भएको बताइन् । पार्टीको विभिन्न कमिटी हुदै कार्यवाहक वडा सभापति भएको हुँदा आफू स्वतः सभापतिको दावेदार रहेको उनको भनाई छ । नेपाल महिला संघ जिल्ला कार्यसमितीको सदस्य रहेकी थापा जिल्ला समितिको आमन्त्रित सदस्य समेत हुन् ।

    पार्टीमा लामो समयसम्म काम गरेको हुँदा अबको नेतृत्व आफूले पाउनुपर्ने उनले बताइन् । महिलालाई समाजमा हेर्ने दृष्टिकोण असमान भएको हुँदा अब त्यो भ्रम चिर्ने उनले बताइन् । केशवटार होम स्टेको अध्यक्ष उनी तीनधारे खानेपानी संस्थाका निवर्तमान अध्यक्ष, साथी वचत तथा ऋण सहकारी संस्थाको संस्थापक कोषाध्यक्ष हुन् ।

    नेपाली कांग्रेसमा विपीले प्रतिपादन गरेको समाजवाद उन्मुख समाज निर्माण गर्न र पार्टीलाई क्रियाशिल बनाउन सभापतिमा दावी गरेको तीनै उम्मेदवारको भनाई छ । सबैको साझा थलोको रुपमा एकताबद्ध, सढृढ र सबल कांग्रेस बनाउने आफूहरुको ध्यान रहेको उनीहरुको प्रतिबद्धता छ ।

    यसैगरी हाल व्यास १४ का वडा सभापति काजीमान श्रेष्ठले आफ्नो पुनः वडा सभापतिमा दावी नरहने बताए । वडाध्यक्ष समेत रहेका श्रेष्ठले क्षेत्र नं १ प्रदेश २(ख) को सभापतिमा आफ्नो दावी रहेको बताए ।