


काठमाडौं : बार्सिलानोबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसीले आफू यसका लागि तयार नभएको बताएका छन् ।
क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै सम्बोधन गरेका मेसीले यो एकदमै कठिन क्षण भएको बताए ।
‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’
‘आज मैले ‘गुड-बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ,’ उनले भने, ‘र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’
अर्जेन्टिनी कप्तान तथा ६ पटकका बालोन डी’अर विजेता लियोनेल मेसीले आफ्नो आगामी गन्तब्य निश्चित भइनसकेको बताएका छन् । क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने बाध्यतामा पुगेका उनले पत्रकार सम्मेलनमा अबको यात्रा निश्चित भइनसकेको बताए ।‘अहिलेसम्म मैले कसैसँग कुनै पनि सम्झौता गरेको छैन’ उनले भने, ‘यो एक वर्ष कठिन रह्यो । आधा वर्ष समर्थक बिना रह्यो । म राम्रोसँग बिदाई भन्न चाहन्छु ।’