


बन्दिपुर : तनहुँको डुम्रेमा आइतबारदेखि एम्बुलेन्स सञ्चालनमा आएको छ । भानु-१ को साजबोटेस्थित सिजन युवा क्लब र शान्ति आमा समूहको सकृयतामा एम्बुलेन्स सञ्चालनमा आएको हो ।
सबैभन्दा धेरै एक लाख ५५ हजार दान सहयोग गर्ने इश्वरकुमार श्रेष्ठले एम्बुलेन्स सेवाको शुभारम्भ गरे ।
सिजन क्लबका संरक्षक एवं तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठले जीवन रहेसम्म अरुको भलाईका लागि सेवा गर्नुपर्ने बताए । कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष प्रेम बहादुर लामा, तनहुँ उद्योग वाणिज्य संघ भानु नगर सभापति कृष्णकुमार श्रेष्ठ, लक्ष्मी अस्पताल प्रालिका संचालक केशव अधिकारी लगायतले यस क्षेत्रमा एम्बुलेन्सको आवश्यकता रहेको बताए ।
युवा क्लब र आमा समूहले दुई वर्ष अघि एम्बुलेन्स खरिद गर्ने उदेश्यले महायज्ञ लगाएका थिए। उक्त महायज्ञमा १८ लाख ७० हजार २ सय ३५ संकलन भएको थियो । हाल १५ लाखमा एम्बुलेन्स खरिद गरिएकामा ६ लाख ५० हजार ऋण लिइएको क्लबका संस्थापक अध्यक्ष विवेक श्रेष्ठले जानकारी दिए ।