एजेन्सी : स्पेनिस ला लिगामा आज राति विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिडाडको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राथि ११ः४५ बजे हुनेछ ।
घरेलु मैदानमा हुने खेलमा बार्सिलोना रियल सोसिडाडलाई हराउँदै ला लिगाको नयाँ सिजनमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । तर यो सिजनदेखि टोलीमा आफ्नो सदाबहार फरवार्ड लियोनेल मेस्सी हुनेछैनन् । बार्सिलोनामा उनको अभाव खड्किने सम्भावना रहेपनि बार्सिलोना उनको अभाव पुर्ति गर्दै अघि बढ्ने लक्ष्यमा हुनेछ । टोलीमा युवा र अनुभवी खेलाडीको बाहुल्यता रहेको छ ।
प्रशिक्षक रोनाल्ड कोम्यानले सोसिडाडविरुद्ध यसै समरमा बार्सिलोना आएका डच फरवार्ड मेम्फिस डिपाएले पहिलो रोजाईमै खेलाउने सम्भावना छ । उनले प्रि–सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन, पेड्री, सर्जियो बुस्क्वेट्स, सर्जी रोबर्टाे, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, जेराड पिके, सर्जिनो डेस्ट र गोलरक्षक नेटो टोलीमा रहेका छन् । यसबाहेक युसुफ डेमिर, फ्रान्की डि योङ, रे मानाज, रिकी पुच, मिरालेम प्यानिच, फिलिपे कौटिन्हो, एरिक गार्सिया, रोनाल्ड एराउजो, इमर्सन र स्यामुयल उम्टिटि टोलीमा रहेका छन् ।
यता, अघिल्लो सिजन सुरुवाती समयमा उच्च प्रदर्शन गरेको रियल सोसिडाड सोही लयलाई निरन्तरता दिदै घरेलु टोली बार्सिलोनालाई स्तब्ध पार्ने दाउमा हुनेछ । तर, मुख्य खेलाडीको चोटले टोलीलाई सताउनेछ । फरवार्ड एलेसान्दर इसाक चोटका कारण टोली बाहिर छन् । इमानोल अल्गुआसिल, मार्टिन मेरिनो र मिकेल ओयार्जाबालले पनि खेल्ने सम्भावना न्युन छ ।
म्याट रायनले पनि खेल्ने सम्भावना न्युन रहँदा एलेक्स रेमिरोले मौका पाउन सक्नेछन् । यस्तै टोलीसँग एन्डोनी गोरोसावेल, एरिटिज इलुस्टोन्डो, रुवेन लि नोर्मान्ड, एयहेन मुनोज, एन्डर गुइरभारा, एसिएर, डेभिड सिल्भा, क्रिस्टियन पोर्टु र अदनान जानुजाजले खेल्नेछन् ।
यि दुई टोलीबीचको पछिल्लो २७ खेलको नतिजामा बार्सिलोना १७ खेलमा विजयी भएको छ । ५ खेल सोसिडाडले आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक बार्सिलोनाले सोसिडाडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
बार्सिलोनाले सोसिडाडसँग २०१६ अप्रिल यता हार बेहोरेको छैन । जसक्रममा ११ जित र ३ बराबरीको नतिजा छ ।