तनहुँमा दुर्घटना धेरै दुई पांग्रे सवारीको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा दुर्घटना धेरै दुई पांग्रे सवारीको

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७८, शुक्रबार

    दुलेगौडा : तनहुँमा गत बर्ष ९० स्थानमा सडक दुर्घटना भयो । २०७७/७८ मा भएका सडक दुर्घटनामा १ सय ३० सवारी दुर्घटनामा परे ।
    दुर्घटनामा धेरै दुईपांग्रे सवारी पर्ने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ६६ मोटरसाईकल र स्कुटर दुर्घटनामा परेका हुन् । १८ ट्रक÷ट्यांकर, जिप÷कार १७, ट्याक्टर १७, बस ५, माईक्रो ४ र एउटा टिपर दुर्घटनामा परेको छ ।

    सडक दुर्घटनामा परी एक वर्षको अवधिमा ४८ जनाले ज्यान गुमाएका छन् । ३७ पुरुष, ८ महिला र ३ बालकले ज्यान गुमाएका हुन् । ७६ जना गम्भिर घाईते भए । ५१ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

    २०७६/७७ मा ४४ जनाको सडक दुर्घटनाले प्राण खोसेको थियो । २०७५/७६ मा ६० जनाको मृत्यु भएको ट्रफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यो तीन वर्षको अवधिमा १ सय ५२ जनाले सडक दुर्घटनामा ज्यान गुमाए । तीन वर्षे सडक दुर्घटनाको तथ्याङ्कलाई केलाउँदा धेरै दुर्घटना दुई पांग्रे सवारीको हुने गरेको छ । १ सय ६८ मोटरसाईकल र स्कुटर दुर्घटनामा परेका थिए । जबकी तीन बर्षमा ३ सय ८९ सवारी दुर्घटनामा संग्लन थिए ।

    सडकको भौगलिक वनावट र खाल्डाखुल्डी धेरै हुदाँ दुई पांग्रे सवारी बढी दुर्घटनामा पर्ने ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक डोलेन्द्रबहादुर हमाल बताउँछन् । उनी भन्छन्, ‘दुई पांग्रे सवारीको संख्या पनि धेरै छ, व्यक्तिपिच्छे नै । टिनएजरले बढी लापरवाही गरेर चलाउँछन् । ओभरस्पिड गर्ने, स्पिडमा प्रतिष्पर्धा गर्ने । यी कारण पनि मोटरसाईकल स्कुटर बढी दुर्घटनामा पर्ने गरेका हुन् ।’

    दुर्घटना कम गराउन ‘चालकसंग एक मिनेट’ अभियान चलाईरहेको हमालले जानकारी दिए । चालकलाई घरबाट समयमै यात्रामा निस्कन, विस्तारै चलाउन, हेलमेट लगाउन, लागु पदार्थ तथा मादकपदार्थ सेवन नगरी सवारी चलाउन सचेत गराउने उनले बताए ।

    जिल्लामा बढी जसो दुर्घटना पृथ्वी राजमार्गममा हुन्छ । कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाल, विमलनगर, पावरहाउस पृथ्वीराजमार्गमा बढी दुर्घटना हुने स्थान हुन् । वर्षौ पुरानो खाल्डाखुल्डी भएको सडकमा धेरै सवारी गुड्ने र जथाभावी ओभरट्याक गरेर हुईकाउदा दुर्घटना बढेको प्रहरीको भनाई छ । पछिल्लो समय ग्रामिण सडकमा पनि दुर्घटना बढेको छ ।

    दुर्घटनामा मात्रै होइन सवारी नियम अटेरी गर्नेमा पनि दुई पांग्रे सवारी अग्रस्थानमा छन् । २०७७/७८ मा ६ हजार ६ सय ४६ मोटरसाईकल स्कुटर कारबाहीमा परेका छन् । कारवाहीमा परेका दुई पांग्रे सवारीबाट ४६ लाख ७९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।

    एक वर्षको अवधिमा २० हजार सवारीलाई कारबाही गरिएको थियो । १ करोड ३१ लाख २३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । ५ हजार ७ सय ४५ ट्रक टिप्पर, १ हजार ८ सय १८ बस, ४ हजार ७३ कार÷जिप, १ हजार ५ सय ८७ ट्याक्टर र १ सय ३१ अन्य सवारी कारबाहीमा परेका हुन् ।

    आर्थिक वर्ष २०७६÷७७ मा २१ हजार १ सय ५० सवारीलाई कारबाही गर्दा १ करोड ३४ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । २०७५÷७६ मा १ करोड ६६ लाख ९४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको थियो । त्यो समय २६ हजार ६ सय ४६ सवारीलाई कारबाही गरिएको थियो ।