एजेन्सी : इंग्लिश प्रिमियर लिगअन्तर्गत शनिवार साँझ खेलिएको खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले आर्सनललाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
म्यान्चेस्टर सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा ५२ हजार दर्शकबीच भएको खेलमा सिटीले सुरुवाती १० मिनेट भित्रै अग्रता लिएको थियो। सिटीका मिडफिल्डर इल्काए गुण्डोगानले खेलको ७औं मिनेटमा घरेलु टोलीको खाता खोलेका थिए।
त्यसको ५ मिनेट पश्चात् सिटीले अग्रता दोब्बर बनाउन सफल भयो। यस पटक आर्सनलका रक्षकहरुको गल्तीमा सिटीका फेरान टोरेसले गोल गर्न सफल भएका थिए। पहिलो हाफको ३५औं मिनेटमा आर्सनलका उप-कप्तान ग्रानिट जाखाले सोझो रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।
पहिलो हाफमै १० खेलाडीमा सीमित भएको आर्सनलविरुद्ध सिटीले बल पोसेसनमा हैकम जमाएको थियो। र फलस्वरूप सिटीले खेलको ४३औं मिनेटमा अर्को गोल थप्यो। घरेलु टोलीका नयाँ खेलाडी ज्याक ग्रीलीशको पासमा स्ट्राइकर ग्याब्रियल जिजसले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाएका थिए। दोस्रो हाफमा सिटीले अर्को दुई गोल थप्यो।
खेलको ५३औं मिनेटमा मिडफिल्डर रोड्रीले शानदार लङ रेन्ज गोल गर्न सफल भएका थिए। खेलमा ८१ प्रतिशत बल पोसेसन राखेको सिटीले खेलको ८४औं मिनेटमा पाँचौं गोल गर्न सफल भयो। सिटीका मिडफिल्डर फेरान टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले शानदार जित दर्ता गरेको छ।
यस जितसँगै आर्सनलले सन् २०२१/२२ सिजनमा प्रिमियर लिग इतिहासकै सबैभन्दा कमजोर सुरुवात गरेको छ। तीन खेलमा तीन हार भोगेको आर्सनलले नयाँ सिजनमा कुनै पनि गोल गर्न सकेको छैन।