दमौली : अन्तराष्ट्रिय ज्येष्ठ दिवस र विश्व मुस्कान दिवसको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले शुक्रवार ज्येष्ठ नागरिकलाई बाद्यबादन सामग्री सहयोग गरेको छ ।
व्यास–३ स्थित ज्येष्ठ नागरिक मिलन केन्द्रलाई क्लबले मादल, खैजडी, मधुरा, बासुरी लगायतका बाद्यबादन सामग्रीका साथै फलफुल, ग्लूकोज लगायतका खाद्यन्न सामग्री सहयोग गरेको हो ।
‘नागरिकसँग मुस्कान’ भन्ने नारालाई आत्मसाथ गर्दै आयोजित एक कार्यक्रमका बीच क्लबका अध्यक्ष सुशान्त अधिकारीले ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष शालिकराम गिरीलाई उक्त सामग्री हस्तान्तरण गरे ।
ज्येष्ठ नागरिकहरुले मनोरञ्जनको लागि प्रयोग गर्ने साधनहरु उनीहरुकै आवश्यकता प्रदान गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । ज्येष्ठ नागरिकहरु संस्कार र संस्कृतिको जीवित उदाहरण भएको चर्चा गर्दै अधिकारीले ज्येष्ठ नागरिकलाई सहयोग गर्न पाउदाँ गर्व लागेको बताए ।
मिलन केन्द्रका अध्यक्ष गिरीले दैनिक आवश्यक पर्ने बाद्यबादनका सामग्रीहरु अभाव भइरहेको अवस्थामा क्लबले प्रदान गरेको सामग्री अति उपयोगी सावित हुने बताए । साथै उनले क्लबले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।
ज्येष्ठ नागरिक मिलन केन्द्र वृद्धवृद्धाको दुख, सुख साट्ने, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप मार्फत समय बिताउने एउटा साझा चौतारी बनेको गिरीले जानकारी दिए । ‘हामी यहाँ दैनिक भेला भएर भजन किर्तन गर्ने, एक अर्कोलाई परेको समस्याका बारेमा छलफल गर्ने गछौँ’ गिरीले भने ।
रोटर्याक्ट क्लब अफ दमौलीका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकोषाध्यक्ष मदन तिमल्सेनाले स्वागत, प्रसेडिन्ट नोमिनी अनुज बिमलीले धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रम संयोजक सुनिता आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।