पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा

    अमृत परियार

    १७ आश्विन २०७८, सोमबार

    भिमाद : तनहुँको भिमाद नगरपालिका-७ र ९ मा अवस्थित धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा रहेको छ । ‘भिजिट नेपाल २०२०’ मा एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत धन्दुर सिद्धगुफा कोभिड-१९ को चपेटामा परेको छ।

    पर्यटक भित्र्याउने तयारी सहित थालिएको अभियान कोभिड-१९ का कारण प्रभावित भएको र हाल कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएपछि पर्यटक आउने विश्वास गरिएको छ ।

    कोभिड-१९ पूर्व दैनिक दुई सयदेखि तीन सय आन्तरिक पर्यटक धन्दुर सिद्धगुफा पुग्ने गर्दथे, तर अहिले उक्त सङ्ख्यामा कमी आएको छ ।

    सिद्धगुफा परिसरमा दुईवटा गुफा रहेको छ । एक चमेरो गुफा अर्को सिद्ध गुफा । चमेरो गुफाको लम्बाई करिब १५०० मिटर रहेको छ भने सिद्धगुफाको लम्बाई ३०० मिटर रहेको छ । सिद्धगुफा ३ तलाको रहेको छ । यस्तै परापूर्वककालमा शिकारीहरुले शिकार खेल्न जाने क्रममा मृग लखेट्दै जाँदा चमेरो गुफा भित्र पसेको र सो मृगलाई शिकारी कुकुरले लखेट्दै जाँदा चमेरो गुफाबाट पसेर मोहोरियामा निस्किएको किंवदन्ती रहँदै आएको सिद्ध गुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले बताए ।

    वर्षायाममा पानी पर्दा मोहोरीयाको केही क्षेत्रबाट पानी पसेर चमेरोगुफाबाट पानीकोभेल निस्कने गरेको बताइने उनले बताए । चमेरो गुफा नेपालकै लामो गुफा रहेको उनले बताए । साथै सिद्धगुफा समेत पहिले पहिले ७ तला सम्म रहेको र पछि आफै पुरिँदै गएर अहिले ३ तला सम्म मात्र रहेको उनले बताए । पहिलो तलामा करिब ८० जना जति मानिसहरू अट्न सक्ने उनले बताए ।

    भिमाद बजारबाट पश्चिमतर्फ ३ किमी दूरीमा रहेको सिद्धगुफाको धार्मिक एतिहासिक महत्त्व रहेको छ । जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको सिद्ध गुफा भित्र स्वनिर्मित आकर्षक ढिकी , जाँतो , गाईका थुन , हात्तीको सुड , शिवलिङ्ग , र विभिन्न देवीदेवताका स्पष्ट आकृति देख्न सकिने सिद्ध गुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले बताए । सिद्धगुफा भित्र रहेको गाईको थुनमुनी कुनैपनि व्यक्तिले हात थाप्दा दूध चुहिए उक्त व्यक्ति भाग्यमानी हुने जनविश्वास रहेको उनले बताए ।

    बजारको होहल्ला र कोलाहालबाट मुक्त हुन धेरैजसो व्यक्तिहरु यहाँ पुग्ने गर्दछन् । सडक सञ्जालको राम्रो व्यवस्था भएकाले जुनसुकै सवारी साधन यस क्षेत्रमा पुग्न सक्दछन् । धन्दुर सिद्धगुफामा पार्किङ स्थल , वनभोजस्थल , पिउनेपानी, प्रतिक्षालयको राम्रो प्रबन्ध रहेको छ ।