कास्की दुर्घटना : मृत्यु हुनेहरु काठमाडौंबाट घुम्न गएका विद्यार्थी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्की दुर्घटना : मृत्यु हुनेहरु काठमाडौंबाट घुम्न गएका विद्यार्थी

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०७८, सोमबार

    पोखरा : कास्कीको नयाँ पुलमा जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको खुलेको छ ।

    अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका- ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् ।

    नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् । यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यसैगरी सँगै घुम्न जाँदै गरेका २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले छन् । सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २० वर्षीय देवीका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

    ‘गोंगबुबाट मिलेर घुम्न निस्केको र दिउँसो नयाँ पुलबाट घान्द्रुक जाँदै गर्दा जीप दुर्घटना भएर चालकसहित ८ को मृत्यु भएको खुलेको छ,’ विकले भने, ‘उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइँदै छ ।’

    घान्द्रुक जाने सडक हुदु कलडाँडा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

    ‘बाटो निकै खत्तम रहेछ । साह्रै बिग्रेको छ । उकालो र घुम्ती पनि भएको ठाउँमा जीप ब्याक भएछ र घुम्तीबाट खसेछ,’ हमालले घटनाबारे बताए, ‘सडकको माथिल्लो घुम्तीबाट २ सय मिटर तल सोही सडकमा जीप आइपुगेको छ ।’

    कच्ची र अप्ठेरो बाटोमा ब्याक भएर ब्रेक पनि नलागेका कारण दुर्घटना भएको स्थानीयले पनि बताएको हमालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । (स्रोत : अनलाइन खबर)