पहिराले अवरुद्ध सडक नखुल्दा दसैमा घर जान समस्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराले अवरुद्ध सडक नखुल्दा दसैमा घर जान समस्या

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७८, बुधबार

    देवघाट : तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ । वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैंमा घर जान सर्वसाधारणलाई समस्या भएको हो ।

    शालिग्राम कोरिडोर अन्तर्गत कोटा भतेरीदेखि बन्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिराले बाटो भत्किएको छ । गाउँपालिकाले दसैंमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी राम वंशी ठकुरीले बताए । पहिराले बाटो अवरुद्ध हुँदा देवघाट गाउँपालिका–२ र देवघाट गाउँपालिका–३का जनता प्रत्यक्ष प्रभावित भएका छन् । “सडकको ठाउँ–ठाउँमा पहिरा गएको छ, पहिरा हटाउन गाउँपालिकाले चासो देखाएन,” उनले भने, “त्यसको मार अहिले दसैंमा जनताले बेहोरेका छन् ।”

    गाउँपालिकाले उक्त मार्गलाई भदौ अन्तिमभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएपनि काम नभएको उनकाे गुनासो छ । “जनप्रतिनिधि संवेदनशील नभइदिँदा त्यसको प्रत्यक्ष पीडा नेपालीको महान् पर्व दसैंमा भएको छ । दक्षिणभेगका जनता दसैं मान्न घर आउँदा घण्टौ हिँड्नुपरेको छ,” उनले भने । चितवन, नवलपुर लगायतका ठाउँबाट पुख्र्यौली घर फर्किएका स्थानीयवासी जोखिम मोलेर गन्तव्यतर्फ गइरहेका छन् ।

    गण्डकी प्रदेश सरकार मार्फत् उक्त सडकखण्डका लागि रु ५० लाख बजेट विनियोजन भएको छ । “गाउँपालिकाले दसैंलाई मध्यनजर गरी यो बाटो खुलाउने पहल गर्नुपथ्र्यो, जनप्रतिनिधि भनेको जनताको सेवाका लागि होइन र?” उनले प्रश्न गरे ।