बन्दिपुरमा मनाइयो ऐतिहासिक खड्गजात्रा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दिपुरमा मनाइयो ऐतिहासिक खड्गजात्रा

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७८, बुधबार

    बन्दिपुर : तनहुँको बन्दिपुरमा ऐतिहासिक खड्गजात्रा मनाइएको छ । तीन सय वर्ष पुरानो खड्गजात्रा बन्दिपुरमा मनाइएको हो । फूलपातीको दिन बन्दिपुरमा खड्गजात्रा मनाउँदै आइएको छ । खड्गदेवी मन्दिरमा सर्वसाधारणको बाक्लो उपस्थितिका बीचमा खड्गजात्रा मनाइएको हो ।

    फूलपातीको दिन खड्गदेवी मन्दिरमा राजा मुकुन्द सेनको खड्ग प्रदर्शन गरेर बजार परिक्रमा गराइन्छ । यस क्रममा निरन्तर बजाइने नगरा बाजाले जात्रामा रौनक थप्छ ।

    यो जात्रा तीन सय वर्षदेखि चल्दै आएको विश्वास गरिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार गर्नुभन्दा अगाडिदेखि जात्रा चल्दै आएको मूलपुजारी भरतमणि भट्टराईले बताए ।

    बन्दिपुरमा नेवार, मगर, ब्राह्मण र दलित समुदायको बसोबास छ । खड्गदेवी मन्दिरमा हुने पूजाआजा र जात्रामा पनि नेवार, मगर, ब्राह्मण र दलित समुदाय बराबरी भाग लिने गरेका छन् । खड्गदेवी पूजा व्यवस्थापन समितिका अध्यक्ष आनन्दमान जोशीका अनुसार यो जात्रा पहिले अमाली र पछि महामुखियाको मातहत हुन्थ्यो । अहिले पूजाआजा र जात्रा व्यवस्थापनको सम्पूर्ण काम समितिले नै गर्दै आएको छ ।

    किम्बदन्तिका अनुसार दानवहरूले देवदेवी तथा मानिसलाई धेरै दुःख दिन थालेपछि दानवराज महिषासुरलाई कसरी बध गर्ने भन्ने विषयमा देव-देवीहरूको गोप्य बैठक बस्यो। बैठक महिषासुरसँग युद्ध गर्ने निर्णयमा पुग्यो र साइत जुराई युद्धको आरम्भ भयो। युद्ध आरम्भको अघिल्लो दिन देव-दवीहरू विभिन्न बाजागाजाका साथ पूजाका सामग्री लिएर युद्ध- निमन्त्रणाका साथै सहायताका लागि कालिञ्चोक भगवती पुगी आश्वासन प्राप्त गरे। आश्वासन पाएर फर्केपछि देव-देवीले दोलखा शहरको ‘राइती’ भन्ने ठाउँको तीनधाराअगाडि यज्ञ शुरू गरे। यज्ञ भइरहेको उक्त स्थानमा दानवहरू पुगे र यज्ञमण्डललाई कुल्ची ध्वस्त पारे। यसरी देवता र दानव युद्ध आरम्भ भएको मानिन्छ। उक्त युद्धको अन्तिम दिन तथा विजयादशमीका दिन दानवराज महिषासुरको शीरछेदन गरी देव-देवीले विजय प्राप्त गरेको खुसीयाली तथा यसको सम्झनाका लागि खड्ग जात्रा मनाइने प्रचलन शुरू भएको बताइन्छ।