मन्त्री विश्वकर्मालाई काङ्ग्रेस वडा-२ काे सम्मान, भने, ‘तनहुँवासीको शिर नझुक्ने गरी काम गर्छु’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्त्री विश्वकर्मालाई काङ्ग्रेस वडा-२ काे सम्मान, भने, ‘तनहुँवासीको शिर नझुक्ने गरी काम गर्छु’

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७८, बुधबार

    दमाैली : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले तनहुँवासीको शिर नझुक्ने गरी काम गर्ने बताएका छन् । नेपाली काङ्ग्रेस व्यास नगरपालिका वडा नम्बर २ ले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले राम्रो काम गर्न नसकेपनि नराम्रो काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

    “तनहुँवासीको आर्शीवाद र सद्भावले मन्त्री बन्ने अवसर प्राप्त भयो, तनहुँवासीको शिर नझुक्ने गरी काम गर्छु,” विश्वकर्माले भने । मन्त्री विश्वकर्माले छोटो समय भएकाले विकास निर्माणका कामलाई प्राथमिकता दिएर काम गर्ने बताए । “जिम्मेवारी र कर्तव्य थपिएको महशुस भएको छ, तनहुँ जिल्लाको विकासलाई मुख्य प्राथमिकतामा राख्छु,” उनले भने ।

    देशलाई अप्ठ्यारो परेको बेला काङ्ग्रेसको आवश्यकता पर्ने बताउँदै मन्त्री विश्वकर्माले सङ्घीय सरकारमा शेरबहादुर देउवा र गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार बनेको उल्लेख गरे । विगतमा प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्दा आफू नपरेपछि देशभरका कार्यकर्ताबाट सान्त्वना पाएको बताउँदै उनले भने, “विगतमा म मन्त्री बन्न छुटेँ, सञ्चारमाध्यमले पनि प्राथमिकता साथ उठायो, जनमानसमा पनि छलफलको विषय बन्यो,” विश्वकर्माले भने, “त्यसैलाई महशुस गरी पार्टीले मलाई मन्त्री बनायो ।”

    कार्यक्रममा काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले तनहुँको विकासमा योगदान दिन आग्रह गरे । कार्यक्रममा नेपाली काङ्ग्रेस व्यास नगर समितिका उपसभापति सुर्जकुमार मल्ल, वडा सभापति टुकबहादुर हमाल, उपसभापति निर्मला मल्ल, रमेश गिरी, सचिव कृष्ण सुनार लगायतले तनहुँले मन्त्री पाउनु गौरवको विषय भएको उल्लेख गरे ।