दमौली : तनहुँको व्यास नगरपालिका-५ पाटनका बोटे समुदायलाई दसै मनाउन चामल सहयोग गरिएको छ । नेकपा एकीकृत समाजवादी तनहुँका सदस्य रामलाल श्रेष्ठले पाटनका बोटे समुदायलाई दसै मनाउन चामल र नून सहयोग गरेका हुन् ।
माछा मारेर जीवन निर्वाह गर्दै आएका ६२ बोटे परिवारलाई एक/एक बोरा चामल र नून वितरण गरिएको श्रेष्ठले जानकारी दिए । “लोपोन्मुख समुदायलाई दसैं मनाउन सहयोग होस् भन्नका लागि सहयोग गरेको हूँ,” उनले भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बिहीबार बोटे समुदायलाई चामल वितरण गरे । सोक्रममा मन्त्री श्रेष्ठले विपन्न बोटे समुदायलाई रोजगारीमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बोटे समुदायको दक्षता अनुसारको रोजगारी तनहुँ हाइड्रोबाट दिलाउने मन्त्री श्रेष्ठले उद्धोष गरे ।
मन्त्री श्रेष्ठले व्यास-३ र व्यास-५ जोड्न पक्की पुल बनाउने विषयमा ढिलाई भएकाले त्यसको लागि सम्बन्धित निकायमा दबाब दिने बताए। “प्राविधिकको सल्लाह बमोजिम कहॉ पुल बनाउन उपयुक्त हुन्छ त्यहॉ पुल बन्छ, त्यसका लागि बजेटको चिन्ता गर्नुपर्दैन,” उनले भने ।
कार्यक्रममा व्यास-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले वडाका विकास निर्माणका कामका बारेमा जानकारी गराउँदै आवश्यक बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठलाई आग्रह गरे ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठले भूमिपुत्र विस्थापित हुने क्रम बढेकाले संरक्षण गर्नुपर्नेमा जोड दिए ।