


दमाैली : तनहुँ जिल्लाका विभिन्न धार्मिक मठमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । विजयादशमीको अवसरमा जिल्लाका मठमन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।
नवमीको दिन पूजाआजाका लागि आज व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिर, व्यास नगरपालिका–३ स्थित दुर्गामन्दिर, व्यास नगरपालिका–११ स्थित भगवतीपानी मन्दिर, व्यास-१४ स्थित छाब्दीवाराही मन्दिरमा भक्तजनको भीड लागेको हो ।
विजयादशमी शुरु भएदेखि नै तनहुँ कालिका मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहेको तनहुँ कालिका शहिद पार्कका पूर्व अध्यक्ष इश्वरबहादुर विष्टले जानकारी दिए । दमौली बजारदेखि एक किलोमिटर दूरीमा रहेको मन्दिरमा पूजाआजाका लागि बजार क्षेत्रका साथै आसपासबाट भक्तजन आउने गरेको उनले बताए ।
व्यास नगरपालिका–११ तनहुँसुरस्थित भगवतीपानी मन्दिरमा पनि पूजाआजाका लागि भक्तजनको भीड लागेको भगवतीपानी देवस्थल संरक्षण समितिका सचिव श्यामकुमार श्रेष्ठले बताए । उनका अनुसार मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ यहाँ भक्तजन आउने गर्दछन् ।
नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ ।
नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौँ देवी हुन् ।